पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम तराईमा बढ्दै गर्मी
जेष्ठ ६ गते, २०८३ मा प्रकाशित
काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ । विभागका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने क्रम जारी रहने विभागको अनुमान छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै मौसमविद्ले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव केही दिन अझै कायम रहने सम्भावना रहेकोले पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।