

अर्घाखाँची डटकम संवाददाता
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. २ अन्तर्गत बागीखोला क्षेत्रमा सञ्चालन हुँदै आएका बोइलर कुखुराको होलसेल व्यवसायबाट निस्कने फोहोर सिधै खोलामा मिसाइँदै आएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीयले वातावरणीय प्रदूषण बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयका अनुसार कुखुरा काट्दा निस्कने रगत, प्वाँख तथा अन्य जैविक फोहोर उचित व्यवस्थापन नगरी बागीखोलामा बगाइने गरिएको छ । विशेषगरी बिहानको समयमा खोलाको पानी नै रातो देखिने गरेको स्थानीयवासीको भनाइ छ ।


“बिहानतिर खोलामा रगत बगेजस्तो देखिन्छ, पानी नै रातो हुन्छ । यसले वातावरण र आसपास बसोबास गर्ने मानिसहरूको स्वास्थ्यमा असर पर्ने चिन्ता बढेको छ,” एक स्थानीयवासीले बताएका छन् ।

स्थानीयका अनुसार कुखुरा काटेको फोहोर खोलामा मिसाउँदा पानी प्रदूषित हुनुका साथै दुर्गन्ध फैलिने, जलचर तथा जैविक विविधतिमा असर पुग्ने र खेतीपाती तथा पशुपालनमा समेत नकारात्मक प्रभाव पर्ने अवस्था सिर्जना भएको छ ।

स्थानीय बुद्धिजीवीहरूले खाद्यजन्य व्यवसाय सञ्चालन गर्दा वातावरणीय मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भए पनि कतिपय व्यवसायीले त्यसको बेवास्ता गरेको बताएका छन् । उनीहरूले फोहोर व्यवस्थापनका लागि व्यवस्थित संरचना निर्माण गर्न र स्थानीय सरकारले नियमित अनुगमन तथा नियमन गर्नुपर्ने माग गरेका छन् ।

“यस्ता व्यवसाय सञ्चालन गर्दा फोहोर व्यवस्थापनको स्पष्ट व्यवस्था हुनुपर्छ । सिधै खोलामा फाल्ने कार्य तत्काल रोक्नुपर्छ,” एक स्थानीयले बताएका छन् ।
स्थानीयवासीहरूले बागीखोला क्षेत्रको वातावरण संरक्षणका लागि नगरपालिका र सम्बन्धित निकायले समयमै ध्यान नदिए समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन् ।
#सन्धिखर्क #बागीखोला #वातावरणप्रदूषण #कुखुराफोहोर #अर्घाखाँची #स्थानीयखबर #सन्धिखर्कनगरपालिका #वातावरणसंरक्षण #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD




