फ्रान्सको लियोनमा लागुऔषध विरुद्धको कारबाहीः १ हजार सुरक्षाकर्मी परिचालन, ६५ जना पक्राउ

 

फ्रान्सेली अधिकारीहरूले देशको दोस्रो ठूलो महानगरीय क्षेत्र लियोनमा लागुऔषध तस्करी र त्यससँग सम्बन्धित हिंसा नियन्त्रण गर्न व्यापक सुरक्षा कारबाही शुरु गरेका छन् । ठूलो स्तरको अपरेसनमा करिव १ हजार प्रहरी र अर्धसैनिक सुरक्षा बल (जेन्डरम्स) परिचालन गरिएको छ । लागुऔषध ओसारपसार र यसका कारण बढ्दो आपराधिक घटनाप्रति सरकारले गम्भीर चासो देखाउँदै यो कदम चालेको हो ।

images

रोनका प्रिफेक्ट एटिएन गुयोटकाअनुसार यस अन्तर–मन्त्रालय कारबाहीमा प्रहरी, भन्सार, धोखाधडी नियन्त्रण दस्ता र सार्वजनिक वित्त विभाग जस्ता राज्यका विभिन्न निकायहरूलाई एकीकृत रूपमा परिचालन गरिएको छ ।

सुरक्षाकर्मीहरूले प्रहरी क्षेत्रका १७६ र जेन्डरमरी क्षेत्रका २४ गरी कुल २०० वटा चेकपोइन्टहरू खडा गरी कडा निगरानी गरिरहेका छन् । हालसम्मको कारबाहीमा ६५ जना संदिग्धलाई पक्राउ गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। यस क्रममा करिब १०० किलोग्राम लागुऔषध (गाँजा) र ७ वटा हतियार समेत बरामद गरिएको छ ।

images

लियोनका सरकारी अभियोजक थियरी ड्रानले यो अपरेसन लागुऔषध विरुद्धको बृहत्तर लडाइँको एक हिस्सा भएको बताउनु भयो । उहाँले अहिले सार्वजनिक गरिएका तथ्याङ्कहरू प्रारम्भिक रहेको र अनुसन्धानको प्रगतिसँगै अन्तिम विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।

पछिल्लो समय लियोनमा लागूऔषध व्यापारमाथिको नियन्त्रणलाई लिएर ग्याङ फाइट, धम्की र गोलीकाण्डका घटनाहरूमा वृद्धि भएको छ । सोमवार साँझ मात्र शहरको आठौं जिल्लामा भएको गोलीकाण्डमा तीन जना घाइते भएका थिए । फ्रान्सेली गृह मन्त्रालयले लागूऔषध तस्करहरूको प्रभाव मार्सै जस्ता परम्परागत केन्द्रहरूबाट बाहिर फैलिँदै गएको भन्दै चेतावनी दिँदै आएको छ ।

अधिकारीहरूका अनुसार मंगलवारको कारबाहीले लागूऔषध व्यापारको पूर्ण आपूर्ति सञ्जाललाई लक्षित गरेको छ, जसमा तस्कर, भण्डारणकर्ता, ढुवानीकर्ता र संदिग्ध सम्पत्ति शुद्धीकरण सञ्जालहरू समेत रहेका छन् ।

 

 

Nepal life insuranceimagesimagesimages