जर्मन – नेपालबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर, १० मिलियन युरो सहयोग

काठमाडौ – अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग नेपाल भ्रमणमा रहेका जर्मनका सङ्घीय मन्त्रालयका आर्थिक सहायता विकाससम्बन्धी राज्यमन्त्री गुड्रुन कोपले भेटघाट गरे । भेटमा कोपले नेपालको आर्थिक, विकास शान्तिप्रक्रिया, संविधान निर्माण, मानवअधिकारको विषयमा चासो राखेका थिए ।

अर्थमन्त्री पुनले नेपालको अहिलेको मुख्य प्राथमिकता शान्ति, संविधान, आर्थिक समृद्धि र सुशासन भएको जानकारी गराउँदै अहिलेको सरकारले त्यही चारवटा कार्यभारलाई अगाडि बढाइराखेको बताए । उनले शान्तिप्रक्रिया निष्कर्षतिर जाँदै गरेको र संविधान निर्माण पनि करिब करिब अन्तिम चरणमा पुगेको जानकारी गराए । शान्तिप्रक्रियाको मुख्य काम सेना समायोजनमा दर्जाका बारेमा केही समस्या भएको बताउँदै त्यो मिल्नासाथ काम अगाडि बढ्ने जानकारी गराए । सत्य निरूपण तथा मेलमिला आयोगले सशस्त्र संघर्षको क्रममा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र अन्यको हकमा मेलमिलाप गर्ने उनको भनाइ रहृयो ।

भेटघाटमा अर्थमन्त्री पुनले जर्मनले नेपाललाई गर्दै आएको सहयोग महत्वपूर्ण भएको बताउँदै नेपालको जलविद्युत्, कृषि, पर्यटनको क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले जर्मनको निजी क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहन गरिदिन पनि कोपमार्फत जर्मनसरकारसाग आग्रह गरे ।

भेटघाटमा जर्मन राज्यमन्त्रीले जर्मनले नेपाललाई गर्दै आएको सहयोगलाई वृद्धि गर्ने वचन दिए । उनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न चाहेको बताए । साथै उनले जर्मनको निजी क्षेत्र पनि नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जर्मन सरकारले थप प्रोत्साहन गर्ने पनि प्रतिबद्धता जनाए ।

जर्मनद्वारा नेपाललाई १० मिलियन युरो सहयोग

यसैबीच अर्थमन्त्री पुन र जर्मन राज्यमन्त्रीको भेटलगतै जर्मनले नेपाललाई पछिल्लो चोटी गरेको सहयोग सम्झौता पत्रमा दुई देशबीच हस्ताक्षर भयो । अर्थमन्त्री पुन र जर्मन राज्यमन्त्रीको उपस्थितिमा नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव लालशंकर घिमिरे र जर्मनका तर्फबाट केएफडब्लू विकास बैंकका एसिया तथा युरोप महानिर्देशक वे वल्सले हस्ताक्षर गरे । जर्मनले १० मिलियन युरो (नेपाली १०५६ मिलियन) सहयोग गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि जर्मनले सहयोग गरेको हो । कान्तिपुर