“सबल र सफा शितगंगा” अभियानमा युवाको जागरण: प्रश्नोत्तरदेखि डम्मरु दहसम्म सरसफाइ कार्यक्रम हुँदै

 

-अर्घाखाँची डटकम संवाददाता ।

अर्घाखाँची — सचेत शितगंगा युवा समाज गठन गर्दै शितगंगाका युवाहरू सामाजिक जागरण र सरसफाइ अभियानमा सक्रिय भएका छन्। शितगंगा नगरपालिकाका १४ वटै वडाबाट सक्रिय युवाहरू प्रत्यक्ष भेटघाट तथा सामाजिक सञ्जालमार्फत एकजुट भई “सचेत शितगंगा युवा समाज” गठन गरिएको जनाइएको छ।

संस्थाले जेष्ठ ०८ गते शुक्रबार शितगंगामा पहिलो पटक फरक शैलीको दुई चरणे कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। पहिलो चरणमा शितगंगा नगरपालिकाका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतसँग शिक्षा, स्वास्थ्य, बसाइँसराइ तथा खाली जमिनको अवस्थाबारे प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनेछ। साथै शितगंगामा क्रियाशील प्रमुख राजनीतिक दलका नेताहरूसँग “सबल शितगंगा निर्माणका लागि दलको धारणा के छ ?” भन्ने विषयमा छलफल गरिने जनाइएको छ।

त्यसपछि दोस्रो चरणअन्तर्गत १४ वटै वडाबाट सहभागी युवा तथा स्थानीयको उपस्थितिमा उद्योग वाणिज्य संघ भवन नजिकबाट डम्मरु दहसम्म सरसफाइ अभियान सञ्चालन गरिनेछ। कार्यक्रममा प्लास्टिकका बोतल, चाउचाउका खोललगायत फोहोर संकलन गर्दै ऐतिहासिक डम्मरु दह क्षेत्रसम्म सरसफाइ गरिने आयोजकले जनाएको छ।

युवाहरूले “सबल शितगंगा, सफा शितगंगा” निर्माणमा सबै स्थानीयवासीको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै घरबाटै कुटो, कोदालो र कुचो लिएर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ब्यानरमा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

#सचेतशितगंगायुवासमाज #शितगंगा #युवाअभियान #सरसफाइअभियान #डम्मरुदह #अर्घाखाँची #सबलशितगंगा #सफाशितगंगा #नेपालसमाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु