सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य

 

निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ ।  आयोजनाकाअनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि (६० महिना) तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा काम भइरहेको छ ।

निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख राजेश पौडेलकाअनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङमार्गमार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तिब्र पारिएको छ । आयोजनामा शुरुवाती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए । नेपालमा ईपीसी मोडलको यो नयाँ अभ्यास भएकाले डकुमेण्टेसनमा समस्या, रुख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाइले आयोजनाको गतिमा केही असर पुगेको थियो । यद्यपि, हाल यी समस्याहरू समाधानको क्रममा रहेको र म्याद थप (ईओटी) तथा माइलस्टोन समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले चौथो वर्षको निर्माण अवधिमा छौँ । आउँदो सेप्टेम्बरसम्म इलेक्ट्रो–मेकानिकल जडान तथा सुरक्षाका सम्पूर्ण उपायहरू सुनिश्चित गरी सुरुङबाट सवारी साधन पठाउने हाम्रो लक्ष्य छ ।’

सुरुङ मार्गसँगै एप्रोच सडक (मेन रोड १ र २) मा ‘रिजिड पेभमेन्ट’ गर्ने कार्यको समेत स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र ‘स्लोप प्रोटेक्शन’ (भीर संरक्षण) का कामहरू गरिनेछन् । पैदल यात्रीका लागि रकसेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ ।

यो आयोजनाको शुरुवाती लागत अनुमान करिव १० अर्ब रुपैयाँ रहे पनि प्रतिष्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिव ७ अर्ब रुपैयाँमा सम्झौता भएको हो । सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छोट्याउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु यस सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले स्पष्ट पारेको छ ।

 

 

Nepal life insuranceimagesimagesimages