टर्कीमा मुख्य विपक्षी दलका नेतालाई पदमुक्त गर्ने अदालतको फैसला विरुद्ध विशाल प्रदर्शन

 

टर्कीको एक पुनरावेदन अदालतले मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’ (सीएचपी) का अध्यक्षलाई पदमुक्त गर्ने निर्णय गरेपछि राजधानी अंकारा र इस्तानबुलमा आइतबार हजारौँ नागरिकले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले अंकारास्थित सीएचपीको मुख्यालयमा छापा मारेको थियो । सो क्रममा प्रहरीले पार्टी अधिकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । प्रहरीले पार्टी अध्यक्ष ओजगुर ओजेललाई समेत भवनबाट बाहिर निकालेको थियो ।

भवनबाट बाहिरिएपछि ओजेल हजारौँ समर्थकका साथ टर्कीको संसद भवनतर्फ अघि बढ्नुभएको थियो । संसद नजिकैको एक पार्कमा जम्मा भएको भिडलाई सम्बोधन गर्दै उहाँले अदालतको फैसला आफूहरूलाई मान्य नहुने घोषणा गर्नुभयो । यसैगरी, इस्तानबुलका तीन मुख्य स्थानहरूमा पनि एकैसाथ प्रदर्शनहरू भएका छन् ।

उक्त प्रदर्शनमा विभिन्न मजदुर संगठन, व्यावसायिक संस्थाहरू र अन्य राजनीतिक दलका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए। प्रदर्शनकारीहरूले आफूहरू जनताको इच्छा, लोकतन्त्र र देशको भविष्य रक्षाका लागि सडकमा उत्रिएको बताएका छन् ।

गत बिहीवार पुनरावेदन अदालतले सन् २०२३ मा भएको पार्टीको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको भन्दै ओजेलको अध्यक्ष पदको चयनलाई बदर गर्ने फैसला सुनाएको थियो । अदालतले ओजेलको सट्टा उनका पूर्ववर्ती केमाल किलिचदारोग्लुलाई अन्तरिम नेताको रूपमा नियुक्त गरेको छ ।

 

 

Nepal life insuranceimagesimagesimages