फ्रान्समा सय बढी विद्यालयमा बाल दुर्व्यवहार, सुरू भयाे #MeTooSchool अभियान

 

पेरिस, १४ जेठ । फ्रान्स यतिखेर एक प्रमुख बाल दुर्व्यवहार काण्डसँग जुधिरहेको छ।  राजधानी पेरिस सहित १०० भन्दा बढी विद्यालय र डेकेयर सेन्टरहरू बालबालिका विरुद्ध हिंसा, यौन दुर्व्यवहार र बलात्कारको आरोपमा अनुसन्धानको दायरामा राखिएका छन्। यी घटनाहरूले यतिखेर फ्रान्समा राष्ट्रव्यापी आक्रोश निम्त्याएको छ।

पेरिसका अभियोजक लाउरे बेकोले राजधानीका ८४ प्रिस्कूल, लगभग २० प्राथमिक विद्यालय र लगभग १० डे केयर सेन्टरहरूमा अनुसन्धान भइरहेको बताए। धेरै घटनाहरूमा साना बालबालिका माथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाइएको छ।

यी सबै आरोपहरू स्कूल मनिटरहरू, खाजाको विश्राम, खेल्ने समय, सुत्ने समय र स्कूल पछिका गतिविधिहरूमा बच्चाहरूको हेरचाह गर्ने कर्मचारीहरू माथी निर्देशित छन्।

अदालत बाहिर #MeTooSchool  लेखिएकाे प्ले कार्डसहित आन्दोलनका सहभागीहरूले प्रदर्शन गरेका छन्  । प्रदर्शनकारीहरूले ‘कुनै पनि बच्चा स्कूल जान डराउनु हुँदैन’ भनि लेखिएको ब्यानर बोकेका थिए। आन्दोलनका सह–संस्थापक बार्का जरुआलीले भने कि अब सम्पूर्ण देशले बाल सुरक्षाको बारेमा सतर्क रहनु आवश्यक छ।

अभिभावकहरूले आरोप लगाएका छन् कि केही मनिटरहरूले बच्चाहरूलाई चिच्याएर बोलेको, उनीहरूको कपाल तानेको र उनीहरूलाई खाना दिन अस्वीकार गरेका छन । केही अवस्थामा त यौन दुर्व्यवहारको आरोप पनि लगाइएको थियो।

प्रभावित परिवारका वकिलहरू भन्छन् कि धेरै अभिभावकहरूले उजुरी दर्ता गर्न र कारबाही गर्न महिनौंसम्म संघर्ष गर्नुपरेको थियो। फ्रान्समा, बालबालिकाका मुद्दाहरू सामान्यतया बन्द ढोका पछाडि सुनुवाइ गरिन्छ तर यस पटक पीडित परिवारले सार्वजनिक सुनुवाइको माग गरेका छन ।

परिवारका वकिलहरूका अनुसार उनीहरू गिसेल पेलिकोको कुख्यात बलात्कार मुद्दा सबन्धी अभिब्यक्तिबाट प्रेरित भएका थिए। गिसेलले भनेकी थिइन् कि ‘लज्जा पीडितहरूलाई होइन, अपराधीहरूलाई हुनुपर्छ।’

यस काण्डसँग सम्बन्धित पहिलो प्रमुख मुद्दाहरू मध्ये एकको मुद्दाको सुनवाइ यस हप्ता पेरिसमा सुरु भएको थियो । ३६ वर्षीय स्कूल सहायक डेभिड जीले ​​सेप्टेम्बर २०२४ देखि अप्रिल २०२५ सम्म ३ देखि ५ वर्ष उमेरका पाँच बालबालिकालाई यौन दुर्व्यवहार गरेको र दुई महिला सहकर्मीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। यद्यपी अभियुक्तले सबै आरोपहरू अस्वीकार गरेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकाहरूले प्रहरीलाई अनुपयुक्त स्पर्श गरेको घटनाहरू आफ्नै शब्दमा वर्णन गरेका थिए । अब दोषी ठहरिएमा अभियुक्तलाई १० वर्षसम्म जेल सजाय र १ लाख ५० हजार युरोसम्म जरिवाना हुन सक्छ।

 

 

Nepal life insuranceimagesimagesimages