

गाजास्थित सशस्त्र समूह हमासले आफ्ना सैन्य शाखा ‘अल–कसम ब्रिगेड’ का नवनियुक्त कमाण्डर–इन–चिफ मोहम्मद ओडेहको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको बुधवार औपचारिक रूपमा पुष्टि गरेको छ । मंगलवार साँझ भएको उक्त आक्रमणमा ओडेहसहित उनकी श्रीमती र दुई छोराको समेत मृत्यु भएको हमासले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हमासले यस आक्रमणलाई मानवीय मूल्य, मान्यता, कानून र दैवी सिद्धान्तहरूको घोर उल्लंघन भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिअनुसार ओडेह विगत ३० वर्षभन्दा बढी समयदेखि समूहको सैन्य गतिविधिमा सक्रिय थिए । उनलाई हमासको सशस्त्र सञ्चालनका प्रारम्भिक संस्थापकहरूमध्ये एक मानिन्थ्यो। इजरायल–हमास द्वन्द्वका विभिन्न चरणहरूमा सैन्य योजना तर्जुमा, तयारी र प्रतिरक्षा विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसअघि, इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक बयान जारी गर्दै ओडेह मारिएको पुष्टि गरेका थिए ।

ओडेहलाई गत मे १५ मा इजरायली आक्रमणमै मारिएका इज अल–दिन अल–हद्दादको उत्तराधिकारीका रूपमा करिव एक साताअघि मात्र सैन्य प्रमुख नियुक्त गरिएको थियो । सन् २०२३ अक्टोबर ७ मा द्वन्द्व शुरु भएयता इजरायलले गाजा र गाजा बाहिर रहेका हमासका कैयौँ वरिष्ठ सैन्य तथा राजनीतिक व्यक्तित्वहरूलाई निशाना बनाउँदै आएको छ । दुवै पक्षका आधिकारिक तथ्याङ्कले द्वन्द्वका क्रममा हमासको माथिल्लो नेतृत्व तहमा ठूलो क्षति पुगेको देखाएका छन् ।



