अमेरिकामा ट्रम्पको तस्बीर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी

 

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पको तस्बिर राखिएको २५० डलरको नयाँ नोट जारी गर्ने तयारी सुरु भएको छ । यो प्रस्ताव कानुन परिवर्तन भएमा मात्र अगाडि बढ्ने अमेरिकी सरकारको भनाइ छ ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टका अनुसार हालको कानुनले जीवित व्यक्तिको तस्बिर नोटमा राख्न अनुमति दिँदैन । यही नियम बदल्ने प्रयास भइरहेको उनले बताएका छन् । प्रस्ताव पारित भएमा ट्रम्प १५० वर्षभन्दा बढी समयपछि अमेरिकी नोटमा देखिने पहिलो जीवित व्यक्ति बन्नेछन् ।

सन् २०२६ मा अमेरिका स्थापनाको २५० वर्ष पूरा हुने भएकाले सो अवसरलाई विशेष बनाउँदै तत्कालीन राष्ट्रपतिको तस्बिर भएको स्मारक नोट निकाल्ने तयारी गरिएको बताइएको छ । तर यो योजना अझै प्रस्तावकै चरणमा छ र यसका लागि संसदको दुवै सदनबाट अनुमति आवश्यक हुनेछ ।

वाशिङ्टन पोस्टका अनुसार अमेरिकी मुद्रा छाप्ने जिम्मेवारी पाएको ब्यूरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङलाई नयाँ नोटको डिजाइन तयार गर्न निर्देशन दिइएको छ। प्रारम्भिक डिजाइनमा नोटको बीच भागमा ट्रम्पको तस्बिर राखिएको छ ।

यो प्रस्ताव साउथ क्यारोलिनाका रिपब्लिकन सांसद जो विल्सनले गत वर्ष संसदमा पेश गरेका थिए । सन् २०२५ फेब्रुअरीमा यो विधेयक प्रतिनिधि सभाको वित्तीय सेवा समितिमा पठाइएको थियो। अब यसलाई कानुन बनाउन प्रतिनिधि सभा र सिनेट दुवैबाट अनुमोदन आवश्यक छ ।

यसअघि मार्चमा अमेरिकी ट्रेजरी विभागले ट्रम्पको हस्ताक्षर नोटमा राख्ने घोषणा गरेको थियो। यसलाई पनि अमेरिकाको २५० औँ वर्षगाँठसँग जोडेर हेरिएको छ ।

विभागका प्रवक्ताका अनुसार ब्यूरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङले यसबारे प्रारम्भिक अध्ययन र तयारी गरिरहेको छ । कानुन पास भएमा २५० औँ वर्षगाँठमा ट्रम्पको योगदानलाई सम्मान गर्ने उद्देश्यले नोट जारी गरिने दाबी गरिएको छ ।

डिजाइन तयार पार्ने ब्रिटिश कलाकार इयान एलेक्जेन्डरले ट्रम्प आफैंले उक्त डिजाइन हेरेर केही परिवर्तन सुझाव दिएको दाबि गरेका छन् । उनका अनुसार ट्रम्पले अमेरिकी झण्डाको रंग र २५० औँ वर्षगाँठसँग सम्बन्धित विशेष प्रतीकहरू समावेश गर्न सुझाव दिएका थिए ।

यो प्रस्तावलाई लिएर अमेरिकामा राजनीतिक तथा कानुनी बहस चर्किने संकेत देखिएको छ। ट्रम्प समर्थकहरूले यसलाई ऐतिहासिक सम्मानका रूपमा लिएका छन् भने विपक्षीहरूले परम्परा र कानुनी मान्यताविरुद्धको कदम भन्दै आलोचना गरेका छन्।

नयाँ नोट बजारमा आउन भने लामो समय लाग्ने देखिन्छ । अधिकारीहरूका अनुसार सम्पूर्ण प्रक्रिया पूरा हुन ६ देखि ८ वर्षसम्म लाग्न सक्छ । डिजाइन, स्वीकृति र मुद्रण प्रक्रिया निकै जटिल हुने भएकाले समय धेरै लाग्ने बताइएको छ।

पूर्व निर्देशक प्याटी सोलिमेनका अनुसार नयाँ नोट सम्बन्धी प्रक्रिया पूरा गर्न लामो कानुनी र प्राविधिक चरणहरू पार गर्नुपर्छ। हालसम्म यसबारे सम्बन्धित सरकारी निकायबीच औपचारिक बैठक समेत भएको छैन ।

यसबिच ट्रम्पको हस्ताक्षर भएको १०० डलरको नोट छाप्ने तयारी भने अगाडि बढाइएको बताइएको छ, जुन अमेरिकी इतिहासमै पहिलो पटक हुनेछ जब कुनै बहालवाला राष्ट्रपतिको हस्ताक्षर नोटमा हुनेछ ।

अमेरिकी कानुनअनुसार सन् १८६६ देखि जीवित व्यक्तिको तस्बिर नोटमा राख्न प्रतिबन्ध छ । यो नियम शक्तिको दुरुपयोग रोक्न र व्यक्तिपूजा नियन्त्रण गर्न बनाइएको हो । न्यूयोर्क टाइम्सका अनुसार पछिल्ला २५० वर्षमा केवल एक पटक मात्र कुनै जीवित राष्ट्रपतिको तस्बिर मुद्रा वा सिक्कामा देखिएको थियो । सन् १९२६ मा तत्कालीन राष्ट्रपति केल्भिन कुलिजको तस्बिर आधा डलरको सिक्कामा प्रयोग गरिएको थियो, जसलाई पछि विवादित मानिएको थियो ।

पछि सन् २००५ मा अमेरिकी संसदले ‘राष्ट्रपति एक डलर सिक्का ऐन’ पारित गर्दै स्पष्ट नियम बनाएको थियो। जसअनुसार मात्र दिवंगत राष्ट्रपतिहरूलाई सिक्का श्रृंखलामा समावेश गर्न सकिन्छ र मृत्यु भएको कम्तीमा दुई वर्षपछि मात्र सिक्का जारी गर्न पाइने नियम बनाएको थियो ।

यसैबीच अमेरिकाको स्वतन्त्रताको २५० वर्षगाँठमा ट्रम्पको तस्बिर भएको एक डलरको सिक्का निकाल्ने तयारी पनि भइरहेको छ। अमेरिकी टकसालले यसको प्रारम्भिक डिजाइन तयार गरिसकेको छ र नमुना पनि बनाइसकेको छ।

तर यो सिक्का अझै अन्तिम स्वीकृतिको पर्खाइमा छ। समीक्षा समितिले भने बहालवाला राष्ट्रपतिको तस्बिर राख्नु परम्परा विपरीत हुने भन्दै आपत्ति जनाएको छ ।

 

Nepal life insuranceimagesimagesimages