

लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । लेबनानी अधिकारीहरूकाअनुसार प्रभावित क्षेत्रहरूमा भग्नावशेष पन्छाउँदै जीवितहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

दक्षिण लेबनानको सिडोन सहरस्थित एउटा आवासीय भवनलाई लक्षित गरी रातको समयमा गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट प्राप्त दृश्यहरूमा उद्धारकर्मीहरूले भग्नावशेषबाट शव र घाइतेहरूलाई बाहिर निकालिरहेको देखिन्छ । आक्रमणका कारण वरपरका अन्य भवन र सवारी साधनहरूमा पनि ठूलो क्षति पुगेको छ ।

यसैगरी, टायर जिल्लाका विभिन्न स्थानमा भएका आक्रमणहरूमा पनि सर्वसाधारणहरू हताहत भएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन् । गत महिना युद्धविरामको घोषणा गरिए पनि लेबनानका विभिन्न भूभागमा इजरायली सैन्य कारबाही र हवाई आक्रमणहरूले निरन्तरता पाइरहेका छन् ।



