महादेव फार्मेसीको आयोजनामा भूमिकास्थानमा भलिबल प्रतियोगिता हुने

 

टेकराज भुसाल

अर्घाखाँची ।    खेलकुदको विकास, युवाको पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्थानीय स्तरमा खेल प्रतिभाको खोजी र प्रोत्साहनका लागि महादेव फार्मेसी धारापानीको आयोजनामा यही जेठ २३ र २४ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन जेठ २३ गते भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले गर्ने कार्यक्रम तय भएको छ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजक संस्था महादेव फार्मेसीका सञ्चालक रामबहादुर केसी स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व हुन्। धारापानी स्वास्थ्य चौकीका पूर्व प्रमुखसमेत रहेका केसी केही समय अघि अनिवार्य अवकाश प्राप्त गरेपछि सामाजिक तथा खेलकुद गतिविधिमा थप सक्रिय देखिएका छन्। विशेषगरी भलिबल खेलप्रति उनको गहिरो रुचि रहेको स्थानीयहरू बताउँछन्।

विगतदेखि नै विभिन्न स्थानमा आयोजना गरिएका प्रतियोगिताहरूमा उनले आकर्षक पुरस्कार तथा आर्थिक सहयोग प्रदान गर्दै खेलाडीहरूको हौसला बढाउने कार्य गर्दै आएका छन्।

यस प्रतियोगितालाई पनि केसीले खेलकुदमार्फत युवालाई सकारात्मक दिशामा अघि बढाउने अभियानको रूपमा लिएका छन्। “खेलकुदले अनुशासन, मित्रता र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ,” भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गरिएको केसीको भनाइ छ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ, तृतीयले २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।

 

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु