देशव्यापी प्रदर्शनमा आएको सेक्स थ्रिलर ‘चपली हाइट’ हेर्न युवापुस्ताको ओइरो


काठमाडौं – शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको सेक्स थ्रिलर ‘चपली हाइट’ हेर्न युवापुस्ताको ओइरो लागेको छ । फिल्मले दुई दिनमै ७० लाख रुपैयाँ उठाएको छ । फिल्मले शनिबार मात्रै ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक नरेन्द्र महर्जनले बताए ।


‘म फिल्म वितरणमा लागेको २५ वर्ष भयो होला, तर यस्तो दर्शक उर्लेको पहिले थाहा पाएको थिइनँ,’ महर्जनले थपे, ‘न कुनै पर्व, उत्सव न स्टारकास्ट, तर चैतको उराठमा पनि यो फिल्मले दर्शकलाई तान्यो, खुसीको कुरा हो ।’ यो फिल्ममा विनीता बराल, राज घिमिरे र आमिर गौतमले मात्रै अभिनय गरेका छन् । बराल र घिमिरेको यो पहिलो फिल्म हो ।


‘चलेका सबै हल प्रायः भरिएका छन्,’ वितरक महर्जन भने, ‘अचम्मै भयो ।’ शुक्रबार जय नेपालका तीन सोमा मात्रै चलाएको क्युएफएक्स सिनेमाले अत्यधिक चापका कारण शनिबार जय नेपालमा थप एक, कुमारीमा तीन र सिभिलमा चार सो थप्यो । हेटौंडामा रहेका महर्जनले त्यहाँको ओम हलमा रात्रि सो पनि हाउसफुल भएको सुनाउँदै दाबी गरे, ‘पोखरामा पनि दर्शक ओभर फ्लो भएपछि हल थपिएको छ ।’


‘मलाई धेरै खालका डर थिए, तर आज ढुक्क भएँ,’ शनिबार नै आमा र दिदीहरूलाई फिल्म हेराउन जय नेपाल पुगेकी विनीताले भनिन्, ‘मेरो कामबाट महिलाहरू बढी आकषिर्त भएको पाएँ ।’ निर्माता अर्जुन कुमारले पनि आफ्नो फिल्म हेर्नेमा महिला बढी रहेको बताए ।


केही संवाद र दृश्यका कारण सेन्सर बोर्डले ‘चपली हाइट’ लाई वयस्क फिल्मको मान्यता दिएको छ । ‘तर यो फिल्म भल्गर छैन,’ निर्देशक दीपेन्द्र के खनालले दाबी गरे, ‘मैले उठाएको गम्भीर विषयलाई त्यसले छोपिदिएकोमा चिन्ता लागेको छ ।’ पोखराका युगल जोडी भागेर साथीकोमा शरण लिएपछि घट्ने घटनालाई फिल्ममा देखाइएको छ ।


तीन दर्जन स्टेसनमा प्रदर्शित फिल्मको सुरुआती दुई दिनमा संकलित उक्त रकमलाई आधिकारिक मान्ने हो भने यो हाल सम्मकै सर्वाधिक कमाई हो । महर्जन पनि फिल्मको इनिसियल कलेक्सनलाई ऐतिहासिक भन्न रुचाउँछन् । अधिकांश हलमा टिकट बिक्रीको तथ्यांक वैज्ञानिक र पारदर्शी हुन नसक्दा हलवाला र वितरकको तथ्यांकमै भर पर्नुपर्ने समस्या छ । – कान्तिपुर