

केशव घिमिरे, अर्घाखाँची डटकम।
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ स्थित चन्द्रप्रभा मार्गमा भुरुङ खोला खानेपानी आयोजनाअन्तर्गतका ठूला पाइपहरू लामो समयदेखि सडकको बीचभागमै अव्यवस्थित रूपमा राखिँदा स्थानीयवासी, चालक तथा यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन्।


व्यस्त सडकको बीचमै पाइप थुपारेर छाडिएपछि दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरूको गुनासो छ। विशेषगरी मोटरसाइकल र स्कुटर चालकहरू बढी प्रभावित बनेका छन्। साँघुरो सडक, अव्यवस्थित पाइप र पर्याप्त चेतावनी संकेतको अभावका कारण कतिपय चालक दुर्घटनामा परेर घाइतेसमेत भएको स्थानीयले बताएका छन्।

स्थानीयवासीका अनुसार आयोजनाले पाइप सडकमा ल्याएर राखेको लामो समय बितिसक्दा पनि व्यवस्थापनतर्फ कुनै चासो देखाएको छैन। रातिको समयमा सडक बत्तीको अभाव हुँदा जोखिम अझ बढ्ने गरेको उनीहरूको भनाइ छ।

स्थानीयहरूले सडकमा चेतावनी बोर्ड, सुरक्षा घेराबार वा वैकल्पिक व्यवस्थासमेत नगरिएकाले सर्वसाधारणको ज्यानमाथि खेलबाड भएको आरोप लगाएका छन्। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो उनीहरूको छ।

भुरुङ खोला खानेपानी आयोजनाले निर्माण सामग्री व्यवस्थापनमा लापरबाही गर्दा दुर्घटनाको सम्भावना बढेको भन्दै स्थानीयले तत्काल सडकमा रहेका पाइपहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन्। अन्यथा कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

स्थानीय सरोकारवालाले सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित निर्माण व्यवसायी, आयोजना र स्थानीय प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।





