रास्वपा अर्घाखाँची जिल्ला अधिवेशनको सरगर्मी बढ्दै, सभापति पदमा नमराज पाण्डेयको उम्मेदवारी घोषणा

 

अर्घाखाँची डटकम संवाददाता

सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जेठ २३ र २४ गते हुने जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। यसैक्रममा पार्टीका सक्रिय सदस्य तथा सञ्चारकर्मी नमराज पाण्डेयले जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पाण्डेयले पार्टीका प्रतिनिधि, सदस्य तथा नेतृत्व तहलाई सम्बोधन गर्दै सार्वजनिक अपिलमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टी स्थापनाकालदेखि नै आफू निरन्तर सक्रिय रहेको दाबी गर्दै संगठन निर्माण, चुनावी अभियान, जनसम्पर्क विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

उनले पार्टी सभापति रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक घोषणा गरिएको समयदेखि नै पार्टीसँग जोडिएको बताउँदै लुम्बिनी प्रदेश र अर्घाखाँचीमा संगठन विस्तार, चुनावी अभियान, राहत वितरण तथा पार्टीका विभिन्न आन्दोलन र कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेका छन्।

पाण्डेयले आफ्नो उम्मेदवारी पार्टीलाई थप व्यवस्थित, बलियो र जनमुखी बनाउने उद्देश्यसहित रहेको बताएका छन्। उनले अर्घाखाँचीमा रास्वपालाई थप सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

उनका अनुसार पार्टी सभापतिको जिम्मेवारीका लागि आफूसँग संगठन निर्माण, सञ्चार, सूचना प्रविधि, व्यवस्थापन तथा सामाजिक क्षेत्रमा लामो अनुभव रहेको छ। पार्टीभित्र विधि, प्रक्रिया र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

पाण्डेयले प्रस्तुत गरेका मुख्य आधारहरू:

  • २०७९ सालदेखि रास्वपाको गतिविधिमा निरन्तर सक्रिय सहभागिता
  • लुम्बिनी प्रदेशस्तरीय संगठन विस्तार अभियानमा भूमिका
  • विभिन्न निर्वाचनमा प्रचार–प्रसार तथा संगठन परिचालनमा सक्रियता
  • पार्टीको प्रचारात्मक गीत निर्माण तथा सांगीतिक अभियान सञ्चालन
  • जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा सहभागिता
  • सहकारी प्रकरणमा रवि लामिछानेको समर्थनमा भएका कार्यक्रमहरूमा संलग्नता
  • सञ्चार तथा पत्रकारिता क्षेत्रमा लामो अनुभव
  • सूचना प्रविधि, कम्प्युटर र वेबसाइट व्यवस्थापनसम्बन्धी ज्ञान
  • विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका
  • कृषि, व्यवसाय, बजार व्यवस्थापन र सामाजिक क्षेत्रमा अनुभव

पाण्डेयले पार्टी प्रतिनिधिहरूले आफ्नो अनुभव, योगदान र कार्यक्षमताको मूल्याङ्कन गरी निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। आगामी अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले अर्घाखाँचीमा पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा समेत गरिएको छ।

रास्वपा अर्घाखाँचीको जिल्ला अधिवेशनमा विभिन्न पदका लागि आकांक्षीहरू देखिन थालेसँगै नेतृत्व चयनलाई लिएर जिल्लाको राजनीतिक वृत्तमा समेत चासो बढेको छ।

#रास्वपा #रास्वपा_अर्घाखाँची #जिल्ला_अधिवेशन #नमराज_पाण्डेय #सभापति_उम्मेदवारी #अर्घाखाँची #रवि_लामिछाने #राजनीति #Arghakhanchicom #ArghakhanchicomHD #Arghakhanchidotcom

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु