

काठमाडौँ — नेपालमा यस वर्षको मनसुन भित्रिन अझै करिब एक हप्ता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ र बङ्गालको खाडी हुँदै नेपाल आइपुग्न करिब एक हप्ता लाग्न सक्छ।

मौसमविद् पौडेलका अनुसार मनसुनको गति र सक्रियताका आधारमा नेपालमा भित्रिने समय केही दिन अघि वा पछि पनि सर्न सक्छ। सामान्यतया नेपालमा मनसुन जुन १३ (असारको पहिलो सातातिर) भित्रिने औसत मिति मानिन्छ। तर यस वर्ष भारतमै मनसुन केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको छ।

विभागका अनुसार यस वर्षको मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने र तापक्रम अपेक्षाकृत बढी रहने सम्भावना देखिएको छ। यद्यपि केही क्षेत्रमा अतिवृष्टि तथा केही क्षेत्रमा खडेरी (अनावृष्टि) को जोखिम रहने अनुमान गरिएको छ।
यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्का कारण यस वर्ष करिब ५१ हजार परिवारका २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै आवश्यक तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकेको जनाएको छ।
#मनसुन२०२६ #नेपालमौसम #MonsoonUpdate #मनसुन #वर्षा #जलतथामौसमविज्ञानविभाग #WeatherNews #नेपालसमाचार #जलवायु #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



