


अर्घाखाँची, सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन अन्तर्गत नयाँ जिल्ला नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। उद्घाटन सत्र सम्पन्न भएपछि नेतृत्व चयनको प्रक्रिया निर्वाचनमार्फत अगाडि बढाइएको हो।



जिल्ला कार्यसमिति चयनका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि विभिन्न पदमा आकांक्षीहरूको संख्या बढी भएपछि सहमति जुट्न सकेन। त्यसपछि लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने निर्णय गरिएको हो।



सभापति पदका लागि दिनेश सुनार (विकल्प), सीता पराजुली र महेन्द्र कुँवर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीनै उम्मेदवारले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन, सुशासनको अभ्यास तथा जिल्लामा रास्वपाको संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन्।



निर्वाचन समितिका अनुसार जिल्ला नेतृत्व चयनका लागि कुल २४२ जना मतदाता रहेका छन्। मतदान शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भइरहेको जनाइएको छ। मतदान स्थलमा प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको छ।


यसअघि सम्पन्न उद्घाटन सत्रको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाल, कृषि विज्ञ होम बहादुर क्षेत्री, बाबुराम भुसाल, जनक भुसाल, कमल मरासिनी, पत्रकार रुद्राणी भुसाल, चिरञ्जीवी सुनार लगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले सुशासन, पारदर्शिता, राजनीतिक शुद्धीकरण, युवाको सहभागिता, स्थानीय विकास तथा जनताका मुद्दालाई केन्द्रमा राखेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। अधिवेशनमा संगठन विस्तार, सदस्यता वृद्धि, आगामी कार्ययोजना तथा पार्टीलाई गाउँ–टोलसम्म प्रभावकारी रूपमा पुर्याउने विषयमा समेत छलफल गरिएको थियो।


सभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा भएपछि निर्वाचनलाई चासोका साथ हेरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र त्यसपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

रास्वपा अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले जिल्लामा पार्टीको संगठनात्मक सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

निर्वाचनको अन्तिम परिणामसँगै आगामी कार्यकालका लागि जिल्लामा पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्नेछ।




