भैरहवा वितरण केन्द्रलाई उपभोक्ताको ध्यानाकर्षणः ‘भ्याट हटाऔं, सेवा सुधारौं’

भैरहवा। सिद्धार्थ सञ्जाल रूपन्देही र भैरहवा मर्निङ वाक ग्रुपले विद्युत सेवामा देखिएका समस्या र आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । मर्निङ वाक ग्रुपअध्यक्ष विजय सागर श्रेष्ठ र सञ्जालका अनिल कुमार ज्ञवालीको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सुरज रेग्मीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली र भैरहवा मर्निङ ग्रुपका अध्यक्ष विजय सागर श्रेष्ठले विद्युत सेवा आम नागरिकको आधारभूत आवश्यकता र आर्थिक गतिविधिको प्रमुख आधार भएकाले यसको गुणस्तरमा सुधार अपरिहार्य रहेको बताएका छन् । उनीहरूले पछिल्लो समय बारम्बार हुने विद्युत अवरोध, उच्च तथा न्यून भोल्टेजको समस्या, मर्मतसम्भारमा हुने ढिलाइ तथा विद्युत महसुलमा थपिएको भ्याटका कारण उपभोक्ता, व्यवसायी र उद्योगीहरू थप मारमा परेको उल्लेख गरेका छन् ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै विद्युत महसुलमा लगाइएको भ्याट खारेज गर्न, नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति  सुनिश्चित गर्न र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै वितरण केन्द्रका प्रमुख सहायक प्रबन्धक सुरज रेग्मीले बढ्दो माग र डिजिटल प्रणाली नहुँदा फल्ट खोज्न समय लाग्ने गरेको बताए । उनले भरपर्दो सेवाका लागि वैकल्पिक ’एन–१’ प्रणाली आवश्यक पर्ने र यसका लागि राज्य स्तरबाटै ठूलो लगानी चाहिने उल्लेख गरे । भ्याटको विषय नीतिगत भएकाले आफूले माथिल्लो निकायमा उपभोक्ताको माग अवगत गराउने प्रतिबद्धता रेग्मीले व्यक्त गरे ।