श्रम मन्त्रालयद्धारा पूर्णचन्द्र भट्टराईलाई वैदेशिक रोजगारी विभागका महानिर्देशकमा निरन्तरता दिने निर्णय

काठमाडौं  – श्रम तथा यातायात मन्त्रालयले पूर्णचन्द्र भट्टराईलाई वैदेशिक रोजगारी विभागका महानिर्देशकमा निरन्तरता दिने निर्णय गरेको छ । काजमा मन्त्रालय तानिएका उनको काज फिर्ता गरी यथास्थानमा काम गर्न निर्देशन दिइएको छ ।

उनलाई काजमा मन्त्रालय तानेर विभागमा जारी सुधार प्रक्रिया बिथोल्न खोजेको भन्दै प्रधानमन्त्रीले मन्त्री सरिता गिरीलाई शुक्रबार बर्खास्त गरेका थिए । गिरीले उनलाई बस्ने कुर्सी समेत नदिएर अपमान गरेकी थिइन् । बस्ने कुर्सी नपाएपछि उनले श्रम मन्त्रालय छाड्न निवेदन दिएर बिदा बसेका थिए । ‘मलाई सचिवज्यूले यथास्थानमा काम गर्न निर्देशन दिनुभएको छ,’ भट्टराईले भने । म्यानपावर कम्पनीको दबाबमा हटाइएका भट्टराई दोहोर्‍याएर विभागमा जान इच्छुक थिएनन् ।

म्यानपावर कम्पनीसँग दुस्मनी ठानेका व्यक्तिलाई सुधार प्रक्रिया थप चुनौतीपूर्ण हुने उनको भनाइ थियो । ‘तर उनलाई हटाएकै कारण मन्त्रीको जागिर खाइदिने प्रधानमन्त्रीलाई उनले नाइँ भन्न सक्ने अवस्था थिएन,’ मन्त्रालयका एक सहसचिवले भने । टिम वर्क नभई सुधार प्रक्रिया नबढ्ने तर विभागमा यस्तो वातावरण बनाउन असहज रहेको बताएका थिए । – कान्तिपुर