काभ्रे जिल्लामा गर्मी याम शुरु भएपछि परेको तुषारोले आलु खेती प्रभावित बन्न पुगेको छ ।
फागुणको अन्तिम सातादेखि परेको तुसारोको कारण काभ्रेका खोपासी, कुशादेवी, नाला, धुलिखेल, बनेपा र पनौती क्षेत्रमा लगाईएको आलु खेतीमा नकारात्मक असर परेको छ। काभ्रे जिल्लामा मात्र यो बर्ष १० हजार हेक्टर भन्दा बढी जग्गामा आलु खेती भईरहेको छ ।
जिल्ला कृषि कार्यालय काभ्रेका अनुसार गत वर्ष मात्रै काभ्रेमा २ सिजनमा गरेर १ लाख ४७ हजार २ सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
यसबाट किसानहरुले १ अर्ब ७६ करोड आमदानी गरेका थिए । यो बर्ष अधिकांश क्षेत्रमा लगाईएको आलु तुषारोका कारण मरेको हुँदा आलु उत्पादनमा ४० प्रतिशतले ह्रास आउने जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।