मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु भएको छ । जनकपुरको प्रसिद्ध सरोवर गंगासागर, अरगजापोखरी र धनुषसागर सहितका जलासयमा चैती छठ मनाउन श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ ।
आज चैते छठसँगै दशैं पूजाका लागि शान्ति यात्रा बेलनौतीको कार्यक्रम गरिदैछ । बेलनौती गरेर ल्याइएको बेलबाट भोलि दुर्गा भवानीको नेत्रज्योती भरेपछि दशैं मेला शुरु हुनेछ ।
प्रतिमा बनाइएका स्थलमा सप्तमीदेखि दशमीसम्म मेला लाग्नेछ । चैते दशैंका बेला राजदेवी, संसारीमाई, सोनामाई, सतीसहितका शक्तिपीठमा दर्शनार्थीको घुइंचो लाग्ने गर्दछ ।
यसै अवसरमा त्रिशुली देवीको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिएको छ । चैत शुक्ल षष्ठी तिथिका दिन आज जलासयमा अस्ताउँदै गरेको सूर्य र षष्ठी देवीलाई प्रसाद अर्पण गरिन्छ भने भोलि सप्तमी तिथिका दिन प्रकृतिका देव सूर्यलाई ठेकुवा, भुसुवा, केरा, नारिवलसहितका प्रसाद अर्पण गरी चैती छठ सम्पन्न हुन्छ ।