२५ लाख तिर्न नसक्दा थुनिए बिश्व चर्चित सेफ सन्तोष साह

काठमाडौं, ३१ जेठ ।बेलायतको चर्चित टेलिभिजन प्रतियोगिता मास्टरसेफ द प्रोफेसनल्स मा उत्कृष्ट प्रदर्शनपछि नेपाल फर्केर ‘मिथिला थाली’ ब्रान्ड विस्तार गरिरहेका चर्चित सेफ सन्तोष साह यतिबेला भने बैंकिङ कसुर र ठगीको आरोपमा प्रहरी अनुसन्धानको घेरामा परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहविरुद्ध गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद प्रक्रियासँग जोडिएको आर्थिक विवादमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा रेस्टुरेन्ट व्यवसायी शकुन्तला थापासँग भएको खरिद–बिक्री सम्झौता विवादमा परिणत भएको खुलेको छ।

कार्यालयका अनुसार गैरीधारामा सञ्चालन हुँदै आएको रेस्टुरेन्ट कोरोना महामारीपछि आर्थिक संकटमा परेपछि थापाले व्यवसाय बिक्री गर्ने निर्णय गरेकी थिइन्। त्यसक्रममा साह र थापाबीच करिब एक करोड ३० लाख रुपैयाँमा रेस्टुरेन्ट खरिद–बिक्री गर्ने सहमति भएको थियो।

अनुसन्धानबाट प्राप्त विवरणअनुसार साहले प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ नगद दिएका थिए भने बाँकी रकममध्ये २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। उक्त चेक तीन महिनापछि साट्ने समझदारी भएको बताइएको छ।

तर, तोकिएको समय बितिसक्दा पनि चेक नसाटिएको र त्यसबारे पटक–पटक छलफल हुँदा पनि रकम भुक्तानी नभएको दाबी थापाले गरेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चेक बैंकमा प्रस्तुत गर्दा भुक्तानी नभएपछि ‘चेक बाउन्स’ भएको देखिएको छ।

प्रहरी स्रोतका अनुसार त्यसपछि दुवै पक्षबीच प्रहरी कार्यालयमै बसेर विवाद समाधान गर्ने प्रयास भएको थियो। त्यही क्रममा साहले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख भए पनि रकम नतिरेको आरोप छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार रेस्टुरेन्टको स्वामित्व र सञ्चालनको जिम्मेवारी भने साह पक्षले लिइसकेको अवस्था देखिएको छ। रकम असुल नभएपछि थापा अदालत पुगेकी थिइन्। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साह पक्राउ परेका हुन्।

सिरहाका ४१ वर्षीय साह नेपाली पाककलाका चर्चित नाममध्ये एक मानिन्छन्। उनले भारतको बडोदास्थित होटल तथा क्याटरिङ व्यवस्थापन संस्थाबाट अध्ययन गरेका थिए। सन् २०१० मा बेलायत पुगेका साहले सन् २०२० मा बीबीसीको मास्टरसेफ द प्रोफेसनल्स मा प्रतिस्पर्धा गर्दै ‘सेकेन्ड रनरअप’ बनेपछि व्यापक चर्चा पाएका थिए।

नेपाल फर्किएपछि उनले जनकपुर, झम्सीखेल र काठमाडौंमा ‘मिथिला थाली’ रेस्टुरेन्ट विस्तार गरेका थिए। तर, व्यवसाय विस्तारकै क्रममा भएको भनिएको गैरीधारा रेस्टुरेन्ट खरिद सम्झौता अहिले आपराधिक अनुसन्धानको विषय बनेको छ।

images

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा अनुसन्धान जारी छ। प्रहरीले अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अघि बढाउने तयारी गरेको छ।