
-अनिल नेपाली, अर्घाखाँची डटकम।
अर्घाखाँची । विश्व खडेरी विरुद्ध संघर्ष दिवसको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ। “स्वच्छ पानी, स्वस्थ जीवन हाम्रो अभियान” भन्ने नारासहित फुदबाङ्ग युवा समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


फुदबाङ्ग युवा समाजका अध्यक्ष नविन क्षेत्रीका अनुसार सन्धिखर्कको शान्तिबगैँचा, चुत्राबेशी र फुदबाङ्ग गरी तीन स्थानमा करिब एक हजार जनालाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ।


अध्यक्ष क्षेत्रीले बढ्दो खडेरी, पानीको अभाव तथा स्वच्छ खानेपानीको पहुँचमा देखिएका चुनौतीलाई मध्यनजर गर्दै समुदायमा सचेतना अभिवृद्धि गर्ने र नागरिकलाई स्वच्छ पानीको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।


उहाँका अनुसार जलवायु परिवर्तन, अनियमित वर्षा तथा प्राकृतिक स्रोतहरूको अव्यवस्थित उपयोगका कारण विश्वभर खडेरी र मरुभूमीकरणको समस्या बढ्दै गएको छ। यस्ता चुनौतीको सामना गर्न पानी संरक्षण, स्रोत व्यवस्थापन तथा वातावरणीय सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो।


समाजका कोषाध्यक्ष विष्णु केसीले विश्व खडेरी विरुद्ध संघर्ष दिवसको सन्देशलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि वातावरण संरक्षण, खानेपानी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा स्थानीयवासी, यात्रु, सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बढ्दो गर्मी र खडेरीका बीच निःशुल्क स्वच्छ पानी वितरण कार्यक्रम निकै प्रशंसनीय र समयानुकूल रहेको प्रतिक्रिया दिएका थिए।





