काठमाडौंको जनवहालस्थित सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौंको जनवहालस्थित सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न भएको छ । लगन टोलस्थित मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराई सकेपछि रथ यात्रा सम्पन्न भएको हो ।

 

सेतो मच्छिन्द्रनाथलाई सानो खटमा राखेर नगर परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा आजै पुनर्स्थापन थियो । आर्या अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा गत शनिबार प्रतिस्थापन गरी रथजात्रा सुरु भएको थियो ।

उपत्यकाका बृद्धबृद्धाहरुलाई दर्शन गराउनका लागि मच्छिन्द्रनाथलाई नगर परिक्रमा गराउने चलन छ । किंबदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।

 

उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह-याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अुनसार हाल पनि मूर्ती फेला परेकाले जमलमै रथ बनाउने चलन रहँदै आएको हो ।

 

काठमाडौंको जनबाहल र काभ्रेको नालामा रहेको सेतो मच्छिन्द्रनाथ तथा ललितपुर बुंगमति र चोभारको रातो मच्छिन्द्रनाथ गरी नेपालमा चार वटा मच्छिन्द्रनाथ रहेका छन् । धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध महायन तथा बज्रयान सम्प्रदायले आर्य अवलोकितेश्वरका रुपमा पुज्ने गर्दछन् ।