
-अनिल नेपाली ,अर्घाखाँची डटकम
अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ९ को वडा परिषद् सम्पन्न भएको छ। परिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै योजना तय गरेको छ।


परिषद्बाट भौतिक पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, सिँचाइ प्रणालीको मर्मत तथा सुधारलगायतका योजनालाई उच्च प्राथमिकता दिइएको छ। यस्तै सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार तथा समाज रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरूलाई समेटिएको छ।


आर्थिक विकासतर्फ कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ भने स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा समेत विशेष जोड दिइएको वडा अध्यक्ष भिम केसीले जानकारी दिनुभयो।


कार्यक्रममा वडा सदस्य, पूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।


वडा अध्यक्ष भिम केसीको अध्यक्षतामा सम्पन्न परिषद् कार्यक्रमको सञ्चालन निर्मला केसीले गर्नुभएको थियो।





