
काठमाडौँ । चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ ।
त्यस अवसरमा कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपियाँसहित सम्मान गरियो । २०८३ वैशाख २९ गतेदेखि जेठ ९ गते (१२-२३ मे, २०२६) सम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा अविनाश विक्रम शाह निर्देशित यस चलचित्रले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो ।

कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर ८ मिनेट लामो तालीबाट सम्मान दिएका थिए । फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड समेत प्राप्त गरेको थियो । नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न महानगरपालिकाले सम्मान प्रदान गरेको हो । सम्मान अवसरमा चलचित्रका सबै विभागबाट प्रतिनिधित्व गर्दै ४० जना सहभागी भएका थिए ।


नेपालको काठमाडौँ र फ्रान्सको कान्स दुवै नगर ‘चलचित्र विधा’बाट ‘युनेस्को क्रियटिभ सिटीज नेटवर्क’को सदस्य हुन् ।
उद्घाटन अवसरमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ् निर्देशित लघु चलचित्र ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित लघु चलचित्र ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिए । लघु चलचित्रका बिचमा कुटुम्ब व्याण्डले मौलिक गायन तथा वादनसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदर्शन गरिएका लघु चलचित्रहरु काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् । महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रबार र शनिवार सञ्चालन हुनेछन् । यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन् ।

त्यस अवसरमा महानगरपालिकाले तालिम दिएर वडा स्तरमा प्रवर्धन गरिरहेको एक वडा, एक नमूना कार्यक्रमबाट उत्पादन भएका बस्तु तथा सामग्रीको प्रदर्शन गरिएको थियो ।


महोत्सवको दोस्रो दिन आज असनमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यसरी सञ्चालन हुने कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले प्रदान गरेको छ भने व्यवस्थापनका लागि खुला आव्हानबाट स्थानीय संघसंस्थाहरु छनोट गरेको छ । यसरी छानिएका संस्थाहरुले कार्यक्रम व्यवस्थापन गर्न थालेका छन् । यसअन्तर्गत शुभारम्भ कार्यक्रमको व्यवस्थापन इकोज इन द भ्यालीले गरेको थियो । आजको कार्यक्रमको व्यवस्थापन नीलः सांस्कृतिक क्लवले गरिरहेको छ । आज प्रतिमा पन्त निर्देशित लघु चलचित्र ‘वेरर अफ ग्रास वेड्स’, जीवन सुनुवार निर्देशित लघु चलचित्र ‘द रेडियो कल’ र श्याम कार्की निर्देशित लघु चलचित्र ‘वाइल्ड फायर डडेलो’ प्रदर्शन हुनेछन् ।
यससँगै परम्परागत सामुहिक बादन तथा नृत्य पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसपछि येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा र लुजः नेवाः सांस्कृतिक पुचः ले सुन्धारामा कार्यक्रम व्यवस्थापन गर्नेछन् । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरुप यी स्थान छानिएका हुन् ।
नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यो महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलाप हुनेछन् । मौलिक खानाका परिकार राखिनेछन् ।





