
सञ्जय मिश्रा
रौतहट, ६ असार । करिब दुई दशकभन्दा बढी समय फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः कानुनी दायरामा आएका छन्।
बारा जिल्लाको साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ निवासी ४८ वर्षीय चौरसियालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि जेल चलान गरेको हो।


बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार २१ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेका चौरसियालाई गत जेठ १३ गते पक्राउ गरिएको थियो। अनुसन्धान प्रक्रिया पूरा भएपछि शुक्रबार अदालतमा पेश गरिएकोमा अदालतले उनलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो।

प्रहरीका अनुसार २०६२ साल असोज ३ गते बिहान वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ड्युटी सकेर घर फर्किरहेका सितल प्रसाद चौरसियाको प्रसौनी गाउँपालिका–१ स्थित दुधौरा खोलाको बगरमा धारिलो हतियार प्रयोग गरी घाँटी काटेर हत्या गरिएको थियो। जग्गा सम्बन्धी पुरानो विवाद र रिसिइबीका कारण उक्त हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका चौरसिया लामो समयसम्म प्रहरीको पहुँचभन्दा बाहिर रहे पनि पछिल्लो अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।





