
प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन विशेष समितिको बैठकमा लडाकु समायोजन प्रक्रियालाई सहज बनाउन माओवादी कमाण्डरहरूसँग परामर्श आवश्यक रहेको भन्दै थप समय मागेका छन्।
समायोजन मापदण्ड पुरा गर्नेहरुको संख्या आन्तरिक रुपमा तय गर्न भन्दै माओवादी कमाण्डरहरुलाई काठमाडौ निम्त्याइएको बताइएको छ।

प्रधानमन्त्रीको भनाइमा आश्वस्त देखिएका विशेष समिति सदस्य भीम रावलले भने, “समायोजनलाई सहज बनाउनका लागि कमाण्डरहरुसँग बैठक डाकिएको हो, शंका नगरौं भनेपछि हामीले हुन्छ भन्यौ।”
आन्तरिक तयारीकै क्रममा एकीकृत माओवादीको स्थायी समितिको आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य कमाण्डरहरुसँग परामर्श गरेका थिए।

बैठकमा सहभागी माओवादी सैन्य कमाण्डर नन्द किशोर पुनले भने,”शिविरहरुमा गृहकार्य भइरहेको छ। त्यहाँको सकिने बित्तिकै सबै कमाण्डरहरुसँग बस्छौं र सबै कुरा मिलाउँछौं।”
त्यसै कारण आइतबारदेखि समायोजनमा जाने संख्या घटाउन शुरु गर्ने भनिएको पुनर्वर्गीकरणको काम हुन सकेन।

इलामस्थित चुलाचु्ली शिविर पुगेका विशेष समिति अन्तर्गतको सचिवालयका एकजना सदस्य डा शंभुराम सिंखडाले भने, “कमाण्डरहरुसँग बैठक डाकेको तर संभव हुन नसके पछि आज काम शुरु हुन सकेन।”
विशेष समिति सदस्य रावलका अनुसार उनीहरु अझ पनि चैत मसान्तभित्रै समायोजनको मुख्य काम पुरा हुने अपेक्षामा छन्।

दलहरुबीच महानिर्देशनालयको छनौट, छनौट समिति, दर्जा निर्धारण लगायतका विषयमा सहमति हुन बाँकी छ।




