यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छन्

काठमाडौं, ९ असार । सबैजना कोलाहलबाट टाढा एकान्तमा समय बिताउन चाहन्छन् तर के तपाईं त्यस्तो टापुको कल्पना गर्न सक्नुहुन्छ, जहाँ पाइला राख्ने बित्तिकै जमिन सकिने छ ।

हो यस्तो अनौठो टापु सेन्ट लरेन्स नदीमा अवस्थित छ, जुन न्यूयोर्क शहर र क्यानडाको ओन्टारियोको बीचमा बसेको छ ।

यो सानो टापु ‘जस्ट रुम इनफ आइल्याण्ड’ भनेर विश्व प्रसिद्द छ । केवल ३१० वर्ग मिटरमा फैलिएको यो संसारको सबैभन्दा सानो बसोबास भएको टापुको रूपमा रहेको छ । यो सानो टापुको भौगोलिक स्थिति यस्तो छ कि यसमा एउटा घर र एउटा रूखको लागि मात्र ठाउँ छ।

टेनिस कोर्ट आकारको यो टापुको इतिहास रोचक छ। १९५० को दशकमा साइजल्याण्ड परिवारले शान्त र एकान्त बिदाको लागि यो टापु खरिद गरेको थियो। त्यतिबेला यसको नाम ‘हब आइल्याण्ड’ थियो। टापु खरिद गरि सके पछि परिवारले एउटा सानो घर बनाए र बाँकी रहेको खाली जमिनमा रूख रोपेका थिए।

घर र रूखहरू बनाइए पछि टापुमा सानो बगैंचा बनाउन पनि पर्याप्त ठाउँ बाँकी रहेन । यही विशेषताका कारण साइजल्याण्ड परिवारले यसलाई ‘जस्ट रुम इनफ आइल्याण्ड’ नामकरण गरिदिए ।

पर्यटकहरूलाई टापुमा अवतरण गर्न अनुमति नभए पनि प्रत्येक वर्ष हजारौं पर्यटकहरू सेन्ट लरेन्स नदीको अनौठो विशेषताहरूको प्रशंसा गर्न नजिकैवाट भ्रमण गर्छन्। अमेरिका वा क्यानडा र रकपोर्ट शहरहरूबाट आउने डुङ्गा भ्रमण र क्रूजले पर्यटकहरूलाई टापुको नजिक पुर्‍याउँछ। पानीको बीचमा रहेको यो एकान्त घर र यसको नजिकै उभिएको एकान्त रूखको तस्बिर खिच्नु पर्यटकहरूको लागि एक अविस्मरणीय अनुभव हुने गरेको छ।

यस टापु भ्रमण गर्न गर्मी र जाडो दुवै महिनालाई उत्तम समय मानिन्छ किनकि जाडोमा नदीको पानी बरफमा परिणत हुन्छ, हिडेर पुग्न सकिन्छ, गर्मीमा डुंगा चढेर नजिक जान सकिन्छ ।

यो टापुले विश्वव्यापी रेकर्ड पनि राखेको छ। १९९२ सम्म इङ्गल्याण्ड नजिकै अवस्थित ‘बिशप रक’ लाई संसारको सबैभन्दा सानो बसोबास भएको टापु मानिन्थ्यो। यद्यपि, आधिकारिक रूपमा मापन गर्दा ‘जस्ट रुम इनफ आइल्याण्ड’ बिशप रकको आधा आकारको पाइयो। र, अन्ततः १९९२ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आधिकारिक रूपमा यसलाई संसारको सबैभन्दा सानो बसोबास भएको टापुको उपाधि प्रदान गर्‍यो।