पर्यटकीय नगर तानसेनमा नववर्ष मनाउन आउने आन्तरिक पर्यटकले श्रीनगरडाँडा भरिभराउ


 

– माधव अर्याल

 

पाल्पा – पर्यटकीय नगर तानसेनमा नववर्ष मनाउन आउने आन्तरिक पर्यटकले शुक्रबार बिहानैदेखि श्रीनगरडाँडा भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन मुलुकका विभिन्न स्थानबाट तानसेन आउने गर्छन् ।

नयाँवर्ष मनाउन यहाँ हज्जारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । श्रीनगरमा विगतमा भन्दा यस पटक बढी रौनक देखिएको छ । परिवार, समूह, नवजोडी श्रीनगरमा आएका छन् । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरूले श्रीनगरको रौनक बेग्लै बनाएको स्थानीय कमल खनालले बताए ।

श्रीनगरमा आउनेलाई पानीको भने अभाव भएको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क लिए पनि प्रशस्त पानी नदिएको नवलपरासीबाट आएकी दिपीका आलेले बताइन् । ‘आन्तरिक पर्यटकको घुइँचो छ तर पानीको दुःख छ, यहाँ हेर्ने जस्तो केही देखिएन’ उनले भनिन्, ‘म धेरैवर्षदेखि आउने गरेको छु तर झन् झन् श्रीनगरडाँडाको रौनकता हराउँदैछ । पहाडि जिल्लामा प्रकृतिको सुन्दरता भएर पनि यसलाई जोगाउनेतर्फ ध्यान गएन जस्तो छ ।’

श्रीनगरडाँडाको रेखदेख गर्दै आएको तानसेन नगरपालिकाले व्यवस्थित गर्न सकेको छैन । प्रकृतिले दिएको सुन्दर उपहारको रुपमा श्रीनगरडाँडालाई लिने गरिन्छ । आन्तरिक पर्यटकको घुइँचो हुँदा हुँदै पनि श्रीनगरमा खानेपानीको अभाव, पिकनिक स्पट नहुनु जस्ता कारणले पर्यटकलाई खिन्न पार्ने गरेको छ ।