
काठमाडौं, १५ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण विद्यमान बीमित ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाईसी) यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले प्रचलित कानुनी व्यवस्था तथा नेपाल बीमा प्राधिकरणको निर्देशिका, २०८२ अनुसार केवाईसी विवरण अद्यावधिक गर्नु अनिवार्य रहेको जनाएको हो।
कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी प्रावधान कार्यान्वयनका लागि बीमितहरूको विवरण अद्यावधिक गर्न आवश्यक भएको हो।


केवाईसी अद्यावधिकका लागि बीमित ग्राहकहरूले राष्ट्रिय परिचयपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा ठेगाना, सम्पर्क नम्बर, इमेल, पेशा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएको भए सोसँग सम्बन्धित कागजातसहित आफूलाई पायक पर्ने शाखा वा उपशाखा कार्यालयमा उपस्थित भएर केवाईसी फाराम भर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकहरूका लागि पनि कम्पनीले वैकल्पिक व्यवस्था गरेको छ। ग्राहकहरूले कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गर्न वा सम्बन्धित अभिकर्तामार्फत प्राप्त गरी आवश्यक कागजातसहित कम्पनीको आधिकारिक इमेल वा व्हाट्सएपमार्फत विवरण अद्यावधिक गर्न सक्नेछन्।
कम्पनीले समयमै केवाईसी विवरण अद्यावधिक नगर्ने ग्राहकहरूको हकमा प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आवश्यक परे केही बीमा सेवामा सीमितता वा प्रतिबन्ध लागू हुन सक्ने जनाएको छ। त्यसैले कुनै असुविधा हुन नदिन सबै बीमित ग्राहकलाई यथाशीघ्र आफ्नो विवरण अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ।





