१ हप्तामा १३ लाख आम्दानी

– देपेन्द्र बिष्ट

 

काठमाडौ – सरकारले भेटी व्यवस्थापन थालेको एक सातामा पशुपतिनाथ मन्दिरबाट १३ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको वासुकी मन्दिरमा हुने पूजाबाटमात्रै त्यो भेटी संकलन भएको हो । यही अनुपातमा भेटी संकलन भए वर्ष दिनमा करिब ६ करोडभन्दा बढी संकलन हुनेछ ।

पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले ‘मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । कोषले दैनिक हिसाब विज्ञप्तिमार्फत जानकारी दिने गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाले पशुपति र वासुकी मन्दिरको पूजाबाट मात्र तेह्र लाख रुपैयाँ संकलन भएको बताए । नयाँ वर्षको पहिलो दिनमात्र ३ लाख २० हजार रुपैयाँ भेटी चढेको उनले बताए । ‘दर्शनार्थीलाई कसरी सजिलै पशुपतिनाथ मन्दिरमा प्रवेश गराउन सकिन्छ भन्ने व्यवस्था मिलाउँदैछौं, भेटी त यो भन्दा पनि बढी उठ्छ,’ उनले भने ।


विशेष पूजाबाट उठेको भेटी हालसम्म गणना नभएको भन्दै उनले परम्पराअनुसार पन्ध्र दिनमा मात्र गणना गरिने बताए । पशुपति मन्दिरमा प्रत्येक दिन तीसवटा भन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउँछन् । नवग्रह, हनुमान, उन्मुक्तभैरव र चौसट्ठी लगायतका मन्दिरको पूजाबाट उठेको भेटीको पनि गणना नगरिएको उनले बताए । एक/दुई दिनभित्र यी मन्दिरबाट उठेको भेटीको पनि गणना गरिने भन्दै उनले त्यसको पनि तयारी भइरहेको बताए । गत वर्ष वर्ष दिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो ।

पुरानो परम्पराअनुसार पुजारी र भण्डारीले भेटीघाटी लाने गरेका थिए । ‘पुरानो चलन नै त्यस्तो थियो, त्यसको लेखाजोखा गरेर साध्य छैन अब नयाँ व्यवस्थालाई व्यवस्थित बनाउनतिर लाग्नुपर्छ,’ उनले भने । दैनिक दूध चढाउने दर्शनार्थीबाट केही गुनासो आए पनि अन्यबाट त्यस्तो झन्झट केही बेहोर्नु नपरेको उनले बताए । ‘दक्षिण भारतको तिरुपति बालाजी पनि व्यवस्थित गर्न निकै समय लागेको थियो, हामीले पनि विस्तारै त्यहाँबाट सिक्नुपर्छ,’ उनले भने ।

मन्दिरमा घट्न सक्ने अपि्रय घटनाको समाधान गर्न सरकारले सुरक्षा व्यवस्था नगरेको उनको गुनासो थियो । दर्शन गर्न मन्दिरमा दैनिक हजारौं दर्शनार्थी आउने भन्दै उनले मन्दिर सुरक्षाका लागि छुट्टै सुरक्षाकर्मी हुनुपर्ने बताए ।  ‘सुरक्षाकर्मी मन्दिर प्रशासनबाट चल्नुपर्छ, मन्दिरमा अपि्रय घटना भएमा माथिको निर्देशन पर्खेर बस्ने होइन, आदेश पर्खंदासम्म यहाँ जे पनि घटना हुनसक्छ,’ उनले भने ।