
काठमाडौं, १६ असार । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयर कारोबार तीन महिनायताकै उच्च स्तरमा पुगेको छ। सोमबार नेप्सेमा सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो।
सोमबार कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा ग्लोबल आइएमई बैंकको मात्रै ८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ३.३० प्रतिशत हो। यसअघि बैंकको सेयरमा गत चैत १८ गते ९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो।


सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ ६० पैसाले बढेर २३९ रुपैयाँ ३० पैसामा पुगेको छ। पछिल्ला वर्षहरूमा बैंकको सेयर मूल्य २०० देखि ३०० रुपैयाँको दायराभित्र उतारचढाव हुँदै आएको छ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने वार्षिकीकरण गरिएको लाभांश क्षमता १०.५० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ रहेको छ।




