
केशव पन्थी, अर्घाखाँची डटकम।
अर्घाखाँची, असार १८ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, बल्कोटका स्थानीयवासी विगत १० दिनभन्दा बढी समयदेखि धारामा खानेपानी नआएपछि आकाशे पानीको भरमा दैनिकी चलाउन बाध्य भएका छन्। वर्षौंदेखि सञ्चालनमा रहेको साईराम खानेपानी आयोजनाको मुख्य मुहान सडक निर्माणका क्रममा पुरिएपछि सयौं उपभोक्ता खानेपानी संकटमा परेका हुन्।


स्थानीयका अनुसार पाणिनी गाउँपालिका–७, कुरखोलामा सडक निर्माण गर्ने क्रममा आवश्यक सावधानी नअपनाउँदा आयोजनाको मुख्य मुहानमा क्षति पुगेको थियो। त्यसयता खानेपानीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

स्थानीय उपभोक्ता कृष्ण भुसालका अनुसार सडक खन्ने क्रममा मुहान पुरिँदा पानी ट्याङ्कीसम्म पुग्न छाडेको हो। त्यसपछि परेको लगातारको वर्षाले मुहान तथा ट्याङ्की क्षेत्रमा थप क्षति पुर्याएपछि समस्या अझ जटिल बनेको छ। अहिले स्थानीयहरू वर्षाको पानी जम्मा गरेर पिउन बाध्य छन्।
“धारामा पानी नआएको १० दिनभन्दा बढी भइसक्यो। सडक निर्माणका क्रममा मुहानमा क्षति पुगेपछि खानेपानी पूर्ण रूपमा बन्द भएको छ। अहिले आकाशे पानी नै हाम्रो सहारा बनेको छ,” भुसालले भन्नुभयो।
गाउँका अधिकांश पधेरा, कुवा तथा अन्य प्राकृतिक पानीका स्रोतसमेत सुकिसकेकाले समस्या थप गम्भीर बन्दै गएको छ। विशेषगरी घरमा वृद्धवृद्धा मात्र रहेका परिवार सबैभन्दा बढी प्रभावित भएका छन्।

छत्रदेव गाउँपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद खनालले गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको स्वीकार गर्दै सम्बन्धित निकायले तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो।


खानेपानी सुचारु गर्न स्थानीय उपभोक्ताहरू आफैं श्रमदान गर्दै मर्मत कार्यमा जुटे पनि हालसम्म पानी सञ्चालनमा आउन सकेको छैन। मुहानमा पुगेको क्षति ठूलो भएकाले प्राविधिक सहयोगबिना समस्या समाधान हुन कठिन देखिएको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सडक निर्माण विकासका लागि आवश्यक भए पनि खानेपानीका मुहानजस्ता आधारभूत स्रोतको संरक्षण नगरी गरिएको निर्माण कार्य गैरजिम्मेवार भएको बताएका छन्। उनीहरूले पाणिनी गाउँपालिका तथा सम्बन्धित निकायसँग तत्काल मुहान संरक्षण, पाइपलाइन मर्मत र नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन गर्न माग गरेका छन्।







