
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा बिहीबार डलास रंगशालामा इजिप्ट र अस्ट्रेलिया आमने सामने हुँदैछन् । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ११: ४५ बजेदेखि शुरु हुदैछ ।
दुवै टोली अन्तिम १६ मा स्थान बनाउन मैदान उत्रिने तयारीमा छन् । इजिप्टका कप्तान मोहम्मद सलाह चोटका कारण खेल्ने वा नखेल्ने अन्योलमा छन् । इरानसँग १-१ को बराबरीमा सकिएको समूह चरणको अन्तिम खेलमा उनी दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । टोलीका चिकित्सक मोहम्मद अबु अल इलाले सलाहको तिघ्राको पछाडिको मांसपेशीमा समस्या देखिएको पुष्टि गरेका छन् ।

सलाहले टोलीसँग नियमित प्रशिक्षण नगरी पुनःस्थापनामै समय बिताएका थिए । उनी अस्ट्रेलियाविरुद्ध खेल्न फिट हुने प्रयासमा छन् । समूह चरणमा उनले आफ्ना सहकर्मीका लागि ११ गोलका अवसर सिर्जना गरेका थिए, जुन प्रतियोगितामा बेल्जियमका लिआन्ड्रो ट्रोसार्डपछि दोस्रो धेरै हो ।


सलाहले न्युजिल्यान्डविरुद्ध ३-१ को जितमा गोल पनि गरेका थिए । तर इरानसँग बराबरी र बेल्जियमले न्युजिल्यान्डलाई ५-१ ले हराएपछि इजिप्ट गोलअन्तरका आधारमा समूह ‘जी’को उपविजेता बनेको थियो । यद्यपि इजिप्टले समूह चरणका तीनै खेलमा हार भने बेहोरेन । विश्वकप इतिहासमै पहिलो पटक लगातार तीन खेल अपराजित रहने उपलब्धि बनाएको टोलीले यसपटक पाँच गोल गरेको छ, जुन यसअघिका सात विश्वकप खेलमा गरेको कुल गोल बराबर हो ।
तर अस्ट्रेलियाको बलियो रक्षापंक्तिविरुद्ध इजिप्टलाई गोल गर्न सहज हुने अपेक्षा गरिएको छैन । समूह चरणमा अस्ट्रेलियाले विपक्षीलाई स्पष्ट अवसर निकै कम दिएको थियो । उनीहरूको रक्षात्मक प्रदर्शन प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानिएको छ ।

अस्ट्रेलियाले समूह ‘डी’मा दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको हो । सुरुआती खेलमा टर्कीलाई २-० ले हराएको टोली त्यसपछि अमेरिकासँग २-० ले पराजित भयो भने पाराग्वेसँग गोलरहित बराबरीमा रोकियो ।
समूह चरणमा अस्ट्रेलियाले जम्मा २६ प्रहार मात्र गरेको थियो, जुन समूहका शीर्ष दुई टोलीमध्ये क्रोएसियापछि सबैभन्दा कम हो । पछिल्ला दुई खेलमा उसले गोल गर्न सकेन र सिर्जना गरेका अवसर पनि निकै सीमित थिए ।

अस्ट्रेलियाका फरवार्ड टेटे येन्गीले नकआउट चरणमा टोलीले गोल निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार समूह चरणमा बलियो रक्षापंक्तिविरुद्ध खेल्नुपरेकाले गोल गर्न कठिन भएको थियो । इजिप्टका अहमद फतौह तिघ्राको गम्भीर चोटका कारण यो खेल गुमाउने सम्भावना छ । मोहम्मद अब्देलमोनेम पनि खुट्टाको चोटका कारण शंकास्पद छन् । यता अस्ट्रेलियाले रक्षक जेकब इटालियानो र अनुभवी मध्यपङ्क्तिका खेलाडी म्याथ्यु लेकीलाई चोटका कारण गुमाइसकेको छ । प्रशिक्षक टोनी पोपोभिचले बायाँ रक्षापङ्क्तिमा अजिज बेहिच र दायाँतर्फ जोर्डन बोसलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
इजिप्ट र अस्ट्रेलियाबीच हालसम्म दुई पटक मात्र प्रतिस्पर्धा भएको छ । सन् १९८७ को प्रेसिडेन्ट्स कपमा गोलरहित बराबरीपछि अस्ट्रेलिया पेनाल्टी सुटआउटमा विजयी भएको थियो । त्यसपछि सन् २०१० को मैत्रीपूर्ण खेलमा इजिप्टले अस्ट्रेलियालाई ३-० ले हराएको थियो । यद्यपि हालको अस्ट्रेलियाली टोलीका पाँच खेलाडी टोकियो ओलम्पिकमा इजिप्टसँग २-० ले पराजित भएको टोलीका सदस्य थिए । साथै विश्वकपमा अफ्रिकी टोलीविरुद्ध अस्ट्रेलियाले हालसम्म हार बेहोरेको छैन । उसले सन् २०१० मा घानासँग १-१ को बराबरी खेलेको थियो भने सन् २०२२ मा ट्युनिसियालाई १-० ले पराजित गरेको थियो ।
यस खेलको विजेताले अन्तिम १६ मा साविक विजेता अर्जेन्टिना र केप भार्डेबीचको विजेतासँग खेल्ने छ ।




