उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भैरहवा, असार १९ । सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा रूपन्देहीका विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले विद्यार्थीको सफलतामा सबैभन्दा ठूलो योगदान उनीहरूको आफ्नै मेहनत, अनुशासन र तयारी हुने बताए । उनले सफलतामा ९९ प्रतिशत भूमिका विद्यार्थीको परिश्रमको रहने उल्लेख गर्दै सरकारले गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पाण्डेले विद्यार्थी तथा अभिभावकलाई सम्बोधन गर्दै भने, “मन्त्रीहरू आउँछन्, जान्छन्, फेरिन्छन् र एक दिन पूर्वमन्त्री पनि भइन्छ। तर म सधैं तपाईंहरूको परिवारको सदस्यका रूपमा रहन चाहन्छु। मन्त्रालयमा म मन्त्रीको भूमिकामा भए पनि तपाईंहरूको बीचमा म परिवारकै सदस्य हुँ। विद्यार्थी र युवाहरूको भविष्यप्रति म अत्यन्त संवेदनशील छु र आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिनेछु।“

मन्त्री पाण्डेले सीमित स्रोतसाधनका बाबजुद सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा हासिल गरिरहेको भन्दै शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गरे। उनले हालको ल्यापटप वितरण कार्यक्रमलाई आगामी दिनमा शिक्षा, खेलकुद, सीप विकास तथा सचेतनामूलक कार्यक्रमसँग जोडेर थप प्रभावकारी बनाइने जानकारी दिए ।

कार्यक्रममा सम्मानित विद्यार्थी पूजा विश्वकर्माले प्राप्त ल्यापटपलाई अध्ययन, अनुसन्धान र सिकाइलाई प्रभावकारी बनाउने माध्यमका रूपमा उपयोग गर्ने बताइन् ।

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख हरिबहादुर विष्टले प्रत्यक्ष प्रोत्साहनका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र थप मेहनत गर्ने प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा लीलाराम माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे। कार्यक्रममा लेखा अधिकृत टोलप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैगरी शिक्षा तालिम केन्द्रका प्रमुख हिमलाल खनालले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन पत्रकार प्रेरणा नेपालीले गरेकी थिइन् ।