
– केशव पन्थी / अर्घाखाँची डटकम
अर्घाखाँची – जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति अर्घाखाँचीको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता अधिकारकर्मी, अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवालाबीच छलफल गर्दै उनीहरूको अधिकार, पहुँच र सेवाको प्रभावकारी कार्यान्वयनमा सहकार्य बढाउनु रहेको आयोजकले जनाएको छ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले अपाङ्गता भएका व्यक्तिहरू समाजका समान अधिकार भएका नागरिक भएकाले उनीहरूका अधिकारको संरक्षण र प्रवर्द्धनमा राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा तथा पूर्वाधारमा अझै पनि विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमार्फत ती समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको दृष्टिकोणबाट नभई अधिकार र सम्मानको दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राख्दै उनीहरूको क्षमता विकास, आत्मनिर्भरता र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले कुष्ठरोगका बारेमा विस्तृत जानकारी दिँदै समयमै रोगको पहिचान र उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने बताउनुभयो। उहाँले कुष्ठरोग कुनै अभिशाप वा वंशाणुगत रोग नभई जीवाणुको संक्रमणबाट हुने रोग भएको स्पष्ट पार्दै यसको निःशुल्क उपचार नेपालका सरकारी स्वास्थ्य संस्थामार्फत उपलब्ध रहेको जानकारी दिनुभयो।
उहाँले कुष्ठरोगका लक्षण, बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षण गराउने आवश्यकता तथा समाजमा रहेका भ्रम र विभेद हटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार कुष्ठरोग समयमै उपचार गरेमा अपाङ्गता हुनबाट समेत जोगिन सकिन्छ, त्यसैले लक्षण देखिएमा स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्नुपर्ने उहाँको सुझाव थियो।

जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अंकिता बस्यालले अपाङ्गता तथा कुष्ठरोगसँग सम्बन्धित सरकारी कार्यक्रम, रोकथाम, प्रारम्भिक पहिचान, पुनःस्थापना सेवा तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमबारे प्रस्तुति दिनुभएको थियो। उहाँले स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीचको सहकार्यबाट अपाङ्गता रोकथाम र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने बताउनुभयो।

सन्धिखर्क नगरपालिकाकी सहायक महिला विकास अधिकृत पुष्पा भुसालले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिरहेका सामाजिक सुरक्षा, समावेशी विकास, सीपमूलक तालिम तथा क्षमता विकासका कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर थप प्रभावकारी योजना सञ्चालन गरिने बताउनुभयो।
सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीका प्रमुख फर्सुराम पाण्डेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय अझ बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा सामाजिक विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।


निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयकी प्रधानाध्यापक कमला भुसालले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा र पुनःस्थापनाका क्षेत्रमा देखिएका चुनौतीबारे प्रकाश पार्दै विशेष शिक्षा, दक्ष जनशक्ति, शैक्षिक सामग्री र अभिभावक सचेतना कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका अभिभावकहरूले आफ्ना दैनिक जीवनमा भोगिरहेका समस्या खुलस्त रूपमा प्रस्तुत गरेका थिए। उनीहरूले स्वास्थ्य सेवामा सहज पहुँच, सहायक सामग्रीको उपलब्धता, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर, सार्वजनिक भवन तथा सडकलाई अपाङ्गतामैत्री बनाउने व्यवस्था, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विभेदरहित वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।


सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्याइने बजेट वृद्धि, स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, पुनःस्थापना सेवाको विस्तार गर्ने तथा नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
तस्बिर : केशव पन्थी / अर्घाखाँची डटकम







