आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् । यादवले शुक्रबार आफ्सानो धारणा सार्बजनिक गर्दै ‘संविधान संशोधन सम्बन्धी बहस’ बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन । यदि त्यसो गरिए अग्रगामी परिवर्तनका पक्षधरहरूबाट त्यसको सशक्त प्रतिरोध हुने उनले स्पष्ट परेका छन् । अध्यक्ष यादवले विश्वका प्रमुख संविधानहरूमा राष्ट्रको मूल पहिचान, देशको सार्वभौमसत्ता, लोकतन्त्र, सङ्घीयता, र न्यायिक स्वतन्त्रता जस्ता आधारभूत पक्षलाई स्थायी रूपमा सुरक्षित गर्न ‘असंशोधनीय प्रावधान’ राखिने अभ्यासको उदाहरण समेत दिएका छन् । उनले भनेका छन्- ‘संविधानका यस्ता प्रावधानहरूलाई सामान्य राजनीतिक बहुमतको आधारमा परिवर्तन गर्न नदिने उद्देश्यले असंशोधनीय बनाइएका हुन्छन् । यसले संविधानलाई क्षणिक राजनीतिक स्वार्थ भन्दा माथि राखेर राष्ट्रको दीर्घकालीन हित सुरक्षित गर्न मद्दत गर्छ ।’ उनले भारतको सर्वोच्च अदालतले सन् १९७३ मा ‘केशवानन्द भारती विरुद्ध केराला राज्य’ को ऐतिहासिक मुद्दामा प्रतिपादन गरेको ‘आधारभूत संरचनाको सिद्धान्त’, जर्मनीको संविधानमा रहेको मानव मर्यादा र सङ्घीय संरचनाको सुरक्षा, तथा अमेरिका, फ्रान्स र इटालीका असंशोधनीय संवैधानिक व्यवस्थाहरूको सन्दर्भ समेत प्रस्तुत गरेका छन् । नेपालको सन्दर्भ जोड्दै अध्यक्ष यादवले नेपाली जनताले वर्षौँदेखि गर्दै आएका जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, र ऐतिहासिक मधेश जनविद्रोहको जगमा संविधान सभाबाट नेपालको संविधान जारी भएको स्मरण गराएका छन् । संविधानको धारा २७४ ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संशोधन गर्न रोक लगाएको उनले उल्लेख गरे । यादवले जनतामा निहित सार्वभौमसत्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको सर्वोच्चता, विधिको शासन, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, समानुपातिकता, धर्मनिरपेक्षता र बहुभाषिक/बहुजातीय पहिचान नेपालको संविधानका अपरिवर्तनीय आधारभूत विशेषता भएको तर्क अघि सारेका छन् । संविधानको मूल चरित्रलाई नष्ट गर्ने नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नका लागि मात्र संविधान संशोधन हुनुपर्ने यादवको भनाइ छ । उन ले संशोधनका लागि संघियताको प्रभावकारी कार्यान्वयन गर्न शासकीय स्वरूप र सङ्घीय शासन प्रणालीको सिद्धान्त अनुरूपको सुधार, न्यायोचित प्रतिनिधित्व गर्न समान जनसङ्ख्याका आधारमा संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभामा प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्ने सुझाव दिएका छन् । त्यस्तै, समावेशीता र अधिकारको सन्दर्भमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, खस, पिछडावर्ग, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, र आर्थिक रूपमा विपन्न वर्गको अधिकारको ग्यारेन्टी, पहिचान र पहुँचको लागि राष्ट्रियता वा जातीयताको पहिचानसहित राज्यद्वारा प्रदान गरिने शक्ति, साधन-स्रोत र अवसरमा समानुपातिक समावेशी पहुँच र वर्तमान अवस्थामा राजनीतिक दल र सरकारले क्षणिक स्वार्थ छाडेर स्वतन्त्रता, समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लक्ष्य प्राप्ति तर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिएका छन् ।

२- काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड भिड्ने भएका छन् । फाइनल खेलमा आइतबार आयोजक इङल्याण्ड र अस्ट्रेलिया लर्ड्स मैदानमा आइतबार आमने सामने हुने भएका हुन् । सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यसैगरी इङल्याण्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । महिला टी- २० विश्वकपमा अस्ट्रेलिया आठौ पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले यसअघि ६ पटक २०१०, २०१२, २०१४, २०१८, २०२०, २०२३ मा उपाधि जितेको थियो भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै इङल्याण्डले २००९ मा उपाधि जितेको थियो भने २०१२, २०१४ र २०१८ मा उपविजेता बनेको थियो । त्यस्तै २०२४ मा न्यूजील्याण्ड र २०१६ मा वेस्ट इन्डिजले विश्वकप जितेका थिए ।

३- काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन- ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’ विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १/१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहको बताइएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा प्रहरी परिचालन गरिने प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको र जनधनको क्षति न्यूनीकरणको लागि वृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू संचालन गरिएको बताएका छन् । साथै विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको उनले बताए ।  नेपाल प्रहरीका विशिष्टिकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्वतयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको र प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टिकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने प्रधान कार्यालयले जानकारी दिएको छ । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ-संस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले बताए ।

४- काठमाडौँ । शाहरुख खानको स्वामित्व रहेको नाइट राइडर्स समूहले मेजर लिग क्रिकेटसँगको सहकार्यमा अमेरिकामा नयाँ क्रिकेट मैदान निर्माण गरेको छ । नाइट राइडर्स क्रिकेट ग्राउन्ड क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित पोमोना सहरको फेयरप्लेक्स क्षेत्रमा निर्माण गरिएको हो । यो मैदान मेजर लिग क्रिकेटमा प्रतिस्पर्धा गर्ने लस एन्जलस नाइट राइडर्सको घरेलु मैदान हुनेछ । करिब १०० दिनमै निर्माण सम्पन्न भएको यो मैदानलाई अमेरिकामा क्रिकेटको विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । मैदान सार्वजनिक भएपछि शाहरुख खानले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूले देखेको सपना साकार भएको बताएका छन् । उनले लस एन्जलसको नाइट राइडर्स क्रिकेट ग्राउन्डमा सबैलाई स्वागत गर्दै यो मैदान क्रिकेट मात्र नभई मनोरञ्जन, परिवार र अविस्मरणीय क्षणका लागि पनि निर्माण गरिएको उल्लेख गरेका छन् । उनले यस परियोजनामा सहयोग पुर्‍याएकोमा आइसीसीप्रति आभार व्यक्त गर्दै यो मैदान लस एन्जलसका बासिन्दामात्र होइन, विश्वभरका क्रिकेट समर्थक र सम्पूर्ण नाइट राइडर्स परिवारलाई समर्पित रहेको बताएका छन् । शाहरुखले सार्वजनिक गरेको भिडियोमा पाकिस्तानमा जन्मिएका तथा अमेरिकाका अन्तर्राष्ट्रिय क्रिकेटर अली खान पनि देखिएका छन् । अली खान हाल अमेरिकाको राष्ट्रिय टोली र लस एन्जलस नाइट राइडर्सबाट खेल्दै आएका छन् । भिडियोमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर ड्वेन ब्राभो र सुनिल नारन पनि सहभागी छन् । यो मैदान २०२८ ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेटको पुनरागमनसँग पनि जोडिएको छ । आगामी ओलम्पिकका क्रिकेट प्रतियोगिताका सम्भावित मुख्य खेलस्थलमध्ये यसलाई एक मानिएको छ । गल्फ न्युजका अनुसार मैदानको मुख्य क्षेत्रमा आठ वटा पिच तयार गरिएको छ । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को मापदण्डअनुसार सीमारेखा तथा करिब १२० फिट अग्ला छ वटा फ्लडलाइट टावर जडान गरिएको छ । लस एन्जलस नाइट राइडर्सले सन् २०२३ मा सुरु भएको मेजर लिग क्रिकेटको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । टोली पहिलो सिजनमा अंकतालिकाको पुछारमा रहेको थियो । सन् २०२४ मा पाँचौँ स्थानमा उक्लिए पनि सन् २०२५ मा फेरि छैटौँ स्थानमा सीमित भएको थियो ।

५-  इजरायल र अमेरिकाको आक्रमणमा मृत्यु भएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी तथा उनका परिवारका सदस्यहरूको शव तेहरानस्थित एक मस्जिदमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ । इरानी मिडियाका अनुसार विभिन्न देशबाट इरान पुगेका विदेशी प्रतिनिधिहरूले तेहरानमा आयोजित प्रार्थना सभामा सहभागी भई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यो कार्यक्रम दिनभर सञ्चालन हुने जनाइएको छ । समारोहमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, तालिबान प्रशासनका विदेशमन्त्री आमिर खान मुत्तकी तथा चीनको कम्युनिष्ट पार्टीका एक वरिष्ठ पदाधिकारी सहभागी भएका छन् । ताजिकिस्तान, चीन र भारतका केही अधिकारी पनि कार्यक्रममा सहभागी हुने तयारीमा रहेको बताइएको छ । गत फेब्रुअरीमा भएको आक्रमणमा खामेनेईका ज्वाइँ, नाति, एक छोरी तथा बुहारीसहित परिवारका अन्य सदस्यहरूको पनि मृत्यु भएको थियो । खामेनीको अन्त्यष्टिमा इरानमा २ करोड भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । यसअघि सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएका थिए । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् । इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक-दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् । इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।

६-  जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको एक भागमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना तथा जिल्ला सुरक्षा समितिको असार १६ गतेको निर्णयका आधारमा उक्त व्यवस्था लागू गरिएको जानकारी दिएका हुन् । जसअनुसार रुङ्गा खोला पुलदेखि रसुवागढीसम्मको सडकखण्डमा असार २० गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। धरातलीय भिरालोपन, कमजोर चट्टान तथा माटो, नदी किनारका सडकमा हुन सक्ने कटान र मनसुनका कारण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले सम्बन्धित यातायात व्यवसायी, चालक तथा सरोकारवाला सबैलाई सूचना पालना गर्न अनुरोध गर्दै यात्राको योजना बनाउँदा तोकिएको समयको विशेष ध्यान दिन आग्रह गरेको छ।

७- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसँग कार्यालय पुगेएकी यादवले सेवा प्रवाह, प्रविधिको प्रयोग तथा प्रशासनिक व्यवस्थाको अवस्थाबारे जानकारी लिएकी हुन् । अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयले गरेको सुधारबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । उहाँका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागू गरिएको छ । साथै कम्पनी दर्तापछि स्थायी लेखा नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने आवश्यकता पनि हटाइएको छ। प्रविधिको एकीकृत प्रयोगबाट समय र लागत दुवै बचत हुने कार्यालयको दाबी छ । कार्यालयले सेवाग्राहीका गुनासा तथा जिज्ञासा समाधानका लागि कृत्रिम बौद्धिकता प्रविधिमा आधारित सहायता केन्द्र पनि सञ्चालनमा ल्याएको जनाएको छ। यसमार्फत चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी जानकारी तथा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट हुन नदिन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिएकी थिइन् । यसैबीच, डिजिटल प्रणाली पूर्ण रूपमा लागू भएसँगै कार्यालयले जनशक्ति व्यवस्थापनमा पनि परिवर्तनको प्रस्ताव अघि सारेको छ । रजिष्ट्रार श्रेष्ठले प्रविधिको प्रभावकारी प्रयोगबाट कम कर्मचारीबाट पनि छिटो र बढी काम गर्न सकिने उल्लेख गर्दै २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरिएको जानकारी दिइन् । यसबाट प्रशासनिक खर्चमा उल्लेखनीय कमी आउने विश्वास कार्यालयको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोली सहभागी रहेको थियो। निरीक्षणका क्रममा रजिष्ट्रार श्रेष्ठले मन्त्री तथा मन्त्रालयको टोलीलाई कार्यालयका विभिन्न कार्यकक्ष र सेवा प्रवाह प्रणालीबारे जानकारी गराएका थिए ।

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित नमुना विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणका क्रममा गैरकानुनी लाभ तथा हानि पुर्‍याउने उद्देश्यले झुट्टा बिल र मूल्याङ्कन तयार गरी सरकारी रकमको दुरुपयोग गरिएको पाइएको हो । अनुसन्धानका क्रममा राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको थियो। परामर्शदाताले तयार गरेको प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रहेकामा पछि संशोधित लागत अनुमान एक करोड पाँच लाख ७७ हजार ५९६ कायम गरिएको थियो। आयोगका अनुसार निर्माण कार्य सम्पन्न भएको भन्दै एक करोड नौ लाख ८१ हजार ५०१ को प्राविधिक मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी थप रकम माग गर्ने तथा अन्तिम बिलमा बाँकी रहेको कामको रकमसमेत माग गर्ने निर्णय गरिएको थियो । स्थलगत नापजाँचका क्रममा भने ११ लाख १० हजार ११४ बराबरको काम बढी भएको देखाई नभएको कामको झुट्टा बिल तथा भरपाई तयार गरी सरकारी तथा विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्‍याई भुक्तानी लिएको आयोगको निष्कर्ष छ । यस प्रकरणमा संलग्न रहेको आरोपमा रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल,  जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका लेखापाल शेख जहिरविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा सजायको माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

images

९- नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एग्रीकल्चरल बन्डको ४३ करोडको कारोबार भएको छ भने केबीएल डिभेन्चरको ३९ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

१०- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो ।  निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ ।

images

११- नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी एक साताका लागि देशभर मनसुनी प्रभाव कायम रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । परिषद्ले २५ असारसम्म देशभर मनसुनी प्रणाली सक्रिय रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा मकै, तरकारी, फलफूल बगैंचा, प्लास्टिक घर तथा पशुचौपायाका गोठ वरिपरि पानी जम्न नदिई उचित निकासको व्यवस्था गर्न परिषदले सुझाव दिएको छ। वर्षाको समयमा बालीमा विषादी प्रयोग गर्नुपरे मौसम अनुकूल भएको बेला मात्र प्रयोग गर्न तथा वर्षा भइरहेका बेला विषादी नछर्न पनि आग्रह गरिएको छ । धान खेती गर्ने किसानलाई सिफारिस गरिएका उन्नत जातका बीउ मात्र प्रयोग गर्न, बीउलाई विषादीबाट उपचार गरेर ब्याड राख्न तथा समयमै रोपाइँ सुरु गर्न सुझाव दिइएको छ। साथै कोदोको ब्याड राख्ने, सुन्तला तथा अन्य फलफूलका बिरुवा रोप्ने र फलफूल बगैंचामा रोग तथा कीराको समयमै व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। तरकारी बालीमा गोलभेँडा, खुर्सानी, काँक्रो, फर्सी लगायतमा देखिने रोग तथा कीराको नियमित निगरानी गर्न, पानीको उचित निकास मिलाउन र आवश्यक परे सिफारिस गरिएका जैविक वा रासायनिक उपाय अपनाउन परिषद्ले सुझाव दिएको छ। पशुपालनतर्फ वर्षायाममा पशुचौपायाका खुट्टामा घाउ, कुहिने समस्या तथा विभिन्न संक्रामक रोगको जोखिम बढ्ने भएकाले गोठ सफा र सुख्खा राख्न तथा समस्या देखिए तत्काल पशु स्वास्थ्य प्राविधिकसँग सम्पर्क गर्न आग्रह गरिएको छ। कुखुरा र हाँसमा बर्ड फ्लुको जोखिम तथा बंगुरमा अफ्रिकी स्वाइन ज्वरोको सम्भावना रहेकाले जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन पनि भनिएको छ। माछापालन गर्ने किसानलाई भारी वर्षाका कारण पोखरीमा धमिलो पानी पस्न नदिन, निकासमा जाली राख्न तथा पानीको अम्लीयपन नियमित परीक्षण गर्न सल्लाह दिइएको छ ।  बुलेटिनअनुसार गत साताभर देशभर मनसुनी वर्षा भएको थियो। सबैभन्दा धेरै वर्षा सङ्खुवासभाको नुम केन्द्रमा ३२४.५ मिलिमिटर मापन गरिएको थियो। साथै अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी रहेको उल्लेख गरिएको छ ।

१२- भेनेजुएलामा एक साताअघि गएका शक्तिशाली दुई भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार ५९५ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अघिल्लो दिनको तुलनामा मृतक संख्या तीन सयले बढेको जानकारी दिँदै खोज तथा उद्धार अभियान अझै जारी रहेको बताइन् । रोड्रिगेजले सरकारको खोज तथा उद्धार अभियान अझै नसकिएको स्पष्ट पारेकी छन् । उनका अनुसार भूकम्पमा हालसम्म १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । उनले अझै कति जना बेपत्ता छन् भन्ने खुलाइनन् । यद्यपि, व्यापक रूपमा सार्वजनिक गरिएको एक अनौपचारिक सूचीअनुसार करिब ३८ हजार पाँच सय जना अझै सम्पर्कविहीन छन् । भूकम्पलगत्तै यो संख्या झन्डै ६० हजार पुगेको थियो । गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । रोड्रिगेजका अनुसार ला ग्वाइराका अधिकांश सरकारी अधिकारीको पनि भूकम्पमा ज्यान गएको छ । सरकारी तथ्यांकअनुसार करिब आठ सय भवन भत्किएका छन्, जसमध्ये १८९ भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था र ओरेगन राज्य विश्वविद्यालयका अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रारम्भिक उपग्रह विश्लेषणले करिब ५८ हजार ८७० भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरेको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ । सरकारका अनुसार भूकम्पका कारण तेल निर्यातमा सामान्य ढिलाइ भए पनि निर्यात गतिविधि अधिकांश रूपमा नियमित रहेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने कातिया ला मारस्थित सरकारी इन्धन भण्डारण केन्द्रको क्षतिको पनि प्राविधिक परीक्षण भइरहेको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाले पछिल्ला केही वर्षयताकै ठूलो विपद् सहायता अभियान सञ्चालन गर्दै नौ सयभन्दा बढी उद्धारकर्मीसहित चारवटा खोज तथा उद्धार टोली भेनेजुएलामा परिचालन गरेको छ । साथै प्युर्टो रिको र कुरासाओमा करिब आठ सय थप उद्धारकर्मी तयारी अवस्थामा राखिएको छ । अमेरिकी प्रशासनले १५ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ। संयुक्त राष्ट्रसंघको समन्वयमा ब्राजिल, मेक्सिको, क्यानडा, क्युबा र स्विट्जरल्यान्डलगायत विभिन्न देशले पनि राहत तथा उद्धारमा सहयोग गरिरहेका छन् ।

images

१३- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँट गरिएको छ ।  शुक्रबार कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । यस प्राथमिक शेयरमा २८ लाख १५ हजार ६७९ वटा योग्य आवेदनबाट ३ करोड १ लाख १९ हजार ८८० कित्ता शेयरको माग परेको थियो। यस्तै, ४७ हजार २३० वटा आवेदनबाट माग गरिएको ५ लाख ३५ हजार ५५० कित्ता शेयरको आवेदन भने रद्द भएको थियो। माग अत्यधिक परेपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटअनुसार एक लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि २०८३ असार ३ गतेदेखि ८ गतेसम्म १४ लाख २७ हजार ६ सय कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो । कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। सर्वसाधारणका लागि छुट्याइएको १७ लाख २० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो । त्यस्तै, सर्वसाधारणतर्फको निष्कासनमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइट तथा शेयर निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न सकिन्छ ।

१४-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर तोलाको ४६१५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४५० मा कारोबार भएको थियो ।

१५- जारी फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियामाथि २-० को जित निकाल्दै ८८ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा विजय हासिल गरेको छ । उत्कृष्ट टोली प्रदर्शन गरेको स्विट्जरल्यान्डले सहज जितसहित अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । खेलको १०औँ मिनेटमा २० वर्षीय जोहान मान्जाम्बीले देखाएको उत्कृष्ट व्यक्तिगत कौशलपछि ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । अल्जेरियाले बीचबीचमा केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफ सुरु भएको केवल ४८ सेकेन्डमै अल्जेरियाको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै डान न्डोयेले दोस्रो गोल गरेपछि खेल लगभग स्विट्जरल्यान्डको पक्षमा गएको थियो । यस जितसँगै स्विट्जरल्यान्ड लगातार तेस्रो खेलका लागि पनि भ्यानकुभरमै रहनेछ । अब उसले अन्तिम १६ मा कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डले यस खेलमा देखाएको अनुशासित र प्रभावशाली प्रदर्शनलाई हेर्दा अन्तिम १६ मा उसको सामना गर्ने टोलीका लागि पनि चुनौतीपूर्ण खेल हुने अपेक्षा गरिएको छ ।

Nepal life insurance

१६-  सरकारले पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन बनाएको छ । नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानुनी व्यवस्था गरिएको हो । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानुनी आधारसमेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गरेको हो ।  बुधबार साँझ नै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने वाक्य थपिएको छ । उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ । यो व्यवस्थाका कारण आउदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ ।

१७- पोर्चुगलले अतिरिक्त समयको ठीकअघि गरेको निर्णायक गोलको मद्दतमा क्रोएसियालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । खेलको निर्धारित समय सकिनै लाग्दा ९४औँ मिनेटमा गोन्कालो रामोसले विजयी गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाएका हुन् । राफाएल लियाओको उत्कृष्ट क्रसमा दुई क्रोएसियाली रक्षकभन्दा माथि उफ्रिँदै उनले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औं मिनेटमा क्रोसियाका इभान पेरिसिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यसअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्ने उपलब्धि हासिल गरेका थिए । यस गोल मार्फत रोनाल्डोको गोलले पोर्चुगललाई खेलमा पुनरागमन गराएको थियो। अन्तिम समयसम्म खेल अतिरिक्त समयमा जाने संकेत देखिएको भए पनि रामोसको निर्णायक गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्‍यायो । खेलको अन्तिम मिनेटमा क्रोसियाले बराबरी गोल गरेपनि रेफ्रीले अफसाइड दिएपछि पोर्चुगल विजयी भएको थियो । अब पोर्चुगलले अन्तिम १६ मा युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

१८- जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गतको खेलमा स्पेनले अस्ट्रियालाई ३- ० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । खेलको सुरुआती समयदेखि नै दबाब बनाएको स्पेनले ३६औँ मिनेटमा अग्रता लियो । मार्क कुकुरेलाको होचो पासलाई मिकेल ओयारजाबालले करिब १२ यार्डबाट गोलमा परिणत गर्दै टोलीलाई अघि बढाए । स्पेनले ६६औँ मिनेटमा अग्रता दोब्बर बनायो । लामो पास आदानप्रदानपछि एलेक्स बाएनाको क्रसमा दायाँ रक्षक पेड्रो पोरोले हेडमार्फत गोल गर्दै टोलीलाई २-० को अवस्थामा पुर्‍याए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कुकुरेला र ओयारजाबालले पुनः उत्कृष्ट तालमेल देखाए । कुकुरेलाको सटिक पासमा ओयारजाबालले सहज फिनिस गर्दै प्रतियोगितामा आफ्नो चौथो गोल गरे र स्पेनको ३-० को जित सुनिश्चित गरेका थिए । यसअघि खेलको पहिलो आधा घण्टामा स्पेनले गोल गरे पनि त्यसलाई मान्यता दिइएन । कुकुरेलाले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए, तर पाउ कुबार्सीले अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर श्लागरमाथि फाउल गरेको निर्णय भएपछि गोल रद्द गरिएको थियो । अस्ट्रियाका गोलरक्षक श्लागरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई थप गोल खानबाट जोगाएका थिए । उनले ओयारजाबालको प्रहार रोकेका थिए भने बाएनाको फ्रिकिकलाई क्रसबारतर्फ फर्काउँदै त्यसको रिबाउन्डमा लामिन यामालको प्रहार पनि छातीले बचाएका थिए । दोस्रो हाफमा पनि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो । सन् १९५४ पछि पहिलो पटक विश्वकपको नकआउट खेल खेलेको अस्ट्रियाले वैकल्पिक खेलाडी सासा कालाज्ड्जिकमार्फत एक अवसर सिर्जना गरे पनि उनको हेडर गोलभन्दा माथिबाट बाहिरियो । त्यसपछि अस्ट्रियाले उल्लेखनीय चुनौती दिन सकेन । लगातार प्रभावशाली प्रदर्शन गरेको स्पेनले प्रतियोगिताको पहिलो चार खेलमा गोल नखाने टोलीको सूचीमा मेक्सिकोसँगै आफ्नो नाम पनि दर्ता गराएको छ । अब स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्रोसियाबीचको विजेतासँग खेल्ने छ ।

१९- इरानका सर्वोच्च नेता मुज्तबा खामेनी सुरक्षा कारणले आफ्ना पिता नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी नहुने भएका छन् । इरानका सर्वोच्च नेताका एक प्रतिनिधिलाई उद्धृत गर्दै सार्वजनिक भएको विवरणअनुसार सुरक्षा निकायले सम्भावित इजरायली आक्रमणको जोखिमलाई ध्यानमा राख्दै उनलाई अन्त्येष्टि समारोहबाट टाढा रहन सुझाव दिएको हो । यसबारे इरानी अधिकारीहरूले भने विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् । खामेनीलाई आगामी जुलाई ९ मा मशहद शहरमा अन्त्येष्टि गरिने कार्यक्रम छ । अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि सुरु हुनेछ ।  इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले देशवासीलाई ठूलो संख्यामा अन्त्येष्टिमा सहभागी हुन आह्वान गरेका छन् । उनले जनताको व्यापक उपस्थितिले विश्वलाई खामेनीको रगतको बदला लिइने सन्देश दिने बताएका छन् । अल जजिराका अनुसार गालिबाफले विश्वले इरानको प्रतिशोधको आवाज सुन्नुपर्ने बताएका छन् । उनले विशेष गरी युवा, सहिद परिवार, युद्धमा घाइते भएका नागरिक तथा महिला–पुरुष सबैलाई अन्त्येष्टिमा उपस्थित हुन आग्रह गरेका छन् । इरानका राष्ट्रपति मसुद पजश्कियानले पनि देशवासीलाई अन्त्येष्टिमा व्यापक रूपमा सहभागी हुन अपिल गरेका छन् । उनले खामेनेईको निधनलाई अन्त्य नभई इरानका लागि नयाँ अध्यायको सुरुआत भएको बताएका छन् । तस्निम समाचार संस्थाका अनुसार राष्ट्रपति पजश्कियानले जारी गरेको सन्देशमा खामेनीको निधनले इरानको शासन व्यवस्था आस्था, आदर्श र जनताको दृढ इच्छाशक्तिमा आधारित रहेको पुष्टि गरेको उल्लेख गरेका छन् । उनले जातीय, धार्मिक वा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्न सबै इरानीलाई अन्त्येष्टिमा सहभागी हुन आग्रह गरेका छन् । अन्त्येष्टिको तयारीस्वरूप तेहरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ग्रान्ड मोसल्ला परिसर वरपर खामेनेईका ठूला तस्बिर राखिएका छन् भने धेरै सडकमा आंशिक रूपमा आवागमन बन्द गरिएको छ। सरकारी टेलिभिजनले सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ । अत्यधिक गर्मीलाई ध्यानमा राख्दै नागरिकका लागि विशेष सुरक्षा तथा स्वास्थ्यसम्बन्धी निर्देशन पनि जारी गरिएको छ । यसैबीच, जुलाई ३ मा विदेशी प्रतिनिधिमण्डलका लागि छुट्टै कार्यक्रम राखिएको छ। इरानी अधिकारीहरूका अनुसार करिब ३० देशका प्रतिनिधि उक्त कार्यक्रममा सहभागी हुनेछन् । इरानले भने युरोपेली देशहरूलाई औपचारिक निमन्त्रणा नपठाएको जनाएको छ । खामेनीको अन्त्यष्टिमा इरानमा २ करोड भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ ।

२०- भेनेजुएलामा गएको विनाशकारी दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई ‘चमत्कारपूर्ण उद्धार’ को संज्ञा दिएका छन् । करिब ४० वर्षका हेर्नान अल्बेर्तो गिल फ्लोरेसलाई ला गुआइरास्थित एक सपिङ मलको पार्किङ भवन भत्किँदा करिब २९ फिट गहिरो भग्नावशेषमुनि पुरिएको अवस्थामा फेला पारिएको थियो । उनी सो सपिङ मलमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । स्थानीय तथा विभिन्न देशबाट पुगेका उद्धार टोलीले करिब ७० घण्टासम्म अत्यन्त सावधानीपूर्वक सञ्चालन गरेको उद्धार अभियानपछि उनलाई सकुशल बाहिर निकाल्न सफल भएका हुन् । चिलीको अग्निनियन्त्रण विभागका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उद्धारमा संलग्न भेनेजुएलाको रेडक्रसका आपत्कालीन स्वास्थ्यकर्मी लुइस रोड्रिगेजले एम्बुलेन्समा राख्दा गिलको अवस्था स्थिर रहेको बताए । उनका अनुसार अस्पताल लैजाँदै गर्दा उनी पूर्ण होसमा थिए, उद्धार टोलीसँग संवाद गरिरहेका थिए र उनका सबै जीवनरक्षक संकेत सामान्य अवस्थामा थिए । गिलकी पत्नी गुस्भिमार गोन्जालेसले आठ दिनसम्म श्रीमान्को अवस्था थाहा नपाउँदा आफू अत्यन्त पीडामा रहेको बताइन् । उनी जीवित रहेको खबर पाएपछि भने आशाको किरण देखिएको भन्दै उनले श्रीमान्ले वीरतापूर्वक संघर्ष गरेको प्रतिक्रिया दिइन् । उनका सन्तान पनि घरमा उनको प्रतीक्षामा रहेका छन् । उद्धार टोलीले बुधबार खोजी क्यामेरामार्फत पहिलो पटक गिललाई देखेको थियो । सार्वजनिक गरिएको दृश्यमा बाक्लो कङ्क्रिट र भग्नावशेषको सानो खाली स्थानबाट उनले औंला हल्लाएर आफू जीवित रहेको संकेत दिएका थिए । उद्धार अभियानका क्रममा टोलीले पाइप र सिरिन्जमार्फत उनलाई पानी, खाना, औषधि तथा शरीरलाई आवश्यक तरल पदार्थ उपलब्ध गराएको थियो । बिहीबार सार्वजनिक गरिएको अर्को दृश्यमा उनको टाउको र काँध भग्नावशेषबाट बाहिर निस्किएको तथा अनुहारमा मास्क लगाएको देखिएको थियो । चिलीको अग्निनियन्त्रण विभागले भवन थप भत्किने जोखिमका कारण उद्धार अभियान अत्यन्त जटिल रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको विपद् मूल्याङ्कन तथा समन्वय टोलीका सदस्य सेबास्टियन मोकोर्केरले भूकम्पपछि सात दिनभन्दा बढी समयपछि हुने जीवित उद्धारलाई सामान्यतया चमत्कार मानिने बताए । उनका अनुसार भूकम्पपछि पहिलो ७२ घण्टालाई जीवित उद्धारका लागि सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । उद्धारकर्ताले आइतबारदेखि भग्नावशेषमुनि कुनै व्यक्ति जीवित हुन सक्ने सूचना पाएका थिए । त्यसपछि रडार, ध्वनि पहिचान उपकरण तथा अन्य प्रविधिको प्रयोग गरी गिल जीवित रहेको पुष्टि गरिएको थियो । त्यसयता करिब आधा दर्जन देशका उद्धार विशेषज्ञहरूले सुरक्षित बाटो बनाएर उनलाई बाहिर निकाल्ने प्रयास गरेका थिए । एक उद्धारकर्तासँगको संवादमा गिलले आफू गम्भीर रूपमा घाइते नभएको तर ढुंगामुनि च्यापिएकाले निकै असहज भएको बताएका थिए । उद्धार सुरुङ पटक-पटक भत्किँदा अभियान थप कठिन बनेको थियो । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले गिलको सफल उद्धारलाई जीवनको विजय भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरूको समर्पणको प्रशंसा गरेकी छन् । गिलको उद्धार भएको ला गुआइरा सहर भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । त्यहाँ अझै पनि उद्धार कार्य जारी छ । स्थानीय बासिन्दा र उद्धारकर्मीहरू कुदाल, बेल्चा र खाली हातको सहायताले भग्नावशेष हटाइरहेका छन् भने इन्धन र अन्य आवश्यक स्रोतको अभाव रहेको बताइएको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा कम्तीमा दुई हजार २९५ जनाको मृत्यु पुष्टि भएको छ। यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।