आजको मौसम : लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ। देशका हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा आज राति भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।