अयोध्याको सुनसान स्थानमा हुन्थ्यो दान चोरीको रकम बाँडफाँट

सञ्जय मिश्रा

अयाेध्या, २१ असार । भारतको अयोध्यास्थित राम मन्दिरको चढावा चोरी प्रकरणको अनुसन्धानका क्रममा नयाँ तथ्य सार्वजनिक भएको छ।

प्रहरी स्रोतका अनुसार मन्दिरबाट चोरी गरिएको भनिएको रकम लिएर आरोपीहरू अयोध्या-लखनउ राजमार्ग नजिक रहेको १४ कोसी परिक्रमा मार्गको सुनसान क्षेत्रमा भेला हुने, त्यहीँ रकम बाँडफाँट गर्ने र आगामी योजनाबारे छलफल गर्ने गरेका थिए।

मुख्य आरोपी अविनाश शुक्लालाई प्रहरी रिमाण्डमा लिएर अनुसन्धान गरिरहँदा प्रहरीले उक्त स्थानमा लगेर घटनास्थलको पहिचान गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अनुसन्धान अगाडि बढ्दै जाँदा प्रहरीलाई चोरीमा संलग्न समूहले प्रयोग गर्दै आएको एउटा गोप्य भेटघाट स्थल फेला पारेको हो। बाहिरबाट हेर्दा ट्रक मर्मत गर्ने सामान्य स्थानजस्तो देखिने उक्त क्षेत्रमा नै चोरी पछि सबै आरोपीहरू भेला भएर रकमको हिसाबकिताब गर्ने, हिस्सा र भागबन्डा लगाउने तथा आगामी गतिविधिको योजना बनाउने गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार चोरीपछि आरोपीहरू सिधै घर नफर्की सोही स्थानमा पुग्ने गरेका थिए। त्यहाँ अविनाश शुक्ला, लवकुश मिश्र, अनुकल्प मिश्र, रमाशंकर यादव उर्फ टिन्नू लगायतका आरोपीहरू नियमित रूपमा भेट्ने गरेका थिए। पछिल्ला दिनमा टिन्नूका भतिजासमेत ती बैठकमा सहभागी हुन थालेको अनुसन्धानबाट खुलेको छ। प्रहरीको सोधपुछका क्रममा अविनाशले अधिकांश रकम बराबरी रूपमा बाँड्ने गरिएको स्वीकार गरेको बताइएको छ।

यद्यपि, केही अवस्थामा केही व्यक्तिले बढी हिस्सा पाउने गरेको उनले बताएका छन्। समूहभित्र टिन्नूको प्रभाव सबैभन्दा बढी रहेको र अन्तिम निर्णय उसैले गर्ने गरेको अनुसन्धानमा उल्लेख छ। शनिबार १३ घण्टाको प्रहरी रिमाण्डका क्रममा प्रहरीले अविनाशलाई विभिन्न स्थानमा लगेर अनुसन्धान गरेको थियो। सुरुमा उनलाई कौशलपुरीस्थित श्याम साधना योग केन्द्र लगेर केही कागजात तथा प्रमाण खोजिएको थियो।

त्यसपछि प्रहरी टोली १४ कोसी परिक्रमा मार्गको सुनसान क्षेत्रमा पुगेको थियो। त्यहाँ अविनाशले चोरीपछि आरोपीहरू भेला हुने स्थान देखाएको बताइएको छ। अनुसन्धान अधिकारीहरूले आरोपीहरू त्यहाँ कसरी पुग्थे, कति समय बस्थे र रकम कसरी बाँड्थे भन्ने विषयमा जानकारी संकलन गरेका छन्।

अनुसन्धानका क्रममा अर्को महत्वपूर्ण तथ्य पनि खुलेको छ। प्रहरी स्रोतका अनुसार आरोपीहरूलाई आफूहरू पक्राउ नपर्ने विश्वास थियो किनकि सीसीटीभी फुटेज मेटाइने उनीहरूको विश्वास रहेको थियो। मुख्य आरोपी अविनाशले सोधपुछका क्रममा रमाशंकर यादव उर्फ टिन्नूले ‘केही हुँदैन, सीसीटीभी फुटेज डिलिट गरिन्छ’ भन्दै अन्य आरोपीलाई आश्वस्त पार्ने गरेको बताएका छन्।

images

प्रहरीका अनुसार आरोपीहरूले नियन्त्रण कक्षसम्म पुगेर सीसीटीभी प्रणालीमा छेडछाड गर्ने र केही फुटेज मेटाउने प्रयाससमेत गरेका थिए। यद्यपि अनुसन्धानका लागि आवश्यक धेरै महत्वपूर्ण फुटेज सुरक्षित रहेको र ती नै अहिले घटनाको बलियो प्रमाण बनेको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा अविनाशले चोरीको रकम व्यक्तिगत खर्चमा मात्र नभई सम्पत्ति जोड्नसमेत प्रयोग गरिएको स्वीकार गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार चोरीको रकमबाट एउटा ब्रेजा कार खरिद गरिएको थियो। शंका नलागोस् भनेर उक्त कार शिक्षक रहेका आफ्नै भाइको नाममा दर्ता गरिएको बताइएको छ। त्यस्तै गाउँमा घर निर्माण गर्नुका साथै भाइलाई ठूलो रकम दिएको विषय पनि अनुसन्धानमा खुलेको छ। प्रहरी रिमाण्डका क्रममा आरोपीको बयानका आधारमा उक्त कार बरामद गरिएको छ।

images

अनुसन्धानका क्रममा प्रहरीले अविनाशलाई करिब ४५ दिनको सीसीटीभी फुटेज देखाएको थियो। फुटेजमा आफू चोरीमा संलग्न देखिएपछि उनले लामो समयसम्म इन्कार गर्न नसकी घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

अविनाशसँगको बयानपछि प्रहरीले अब अन्य आरोपीहरू अनुकल्प मिश्र, लवकुश मिश्र, रमाशंकर यादव उर्फ टिन्नू, करुणेश पाण्डे र मनीष यादवसँग पनि अदालतको अनुमति लिएर जेलमै पुगेर सोधपुछ गर्ने तयारी गरेको छ।

images

प्रहरीले अहिले घटनाका सबै कडीहरू जोड्ने काम गरिरहेको जनाएको छ। योग केन्द्र देखि ब्रेजा कार, सीसीटीभी फुटेजदेखि १४ कोसी परिक्रमा मार्गको सुनसान स्थानसम्मका प्रमाणहरूलाई आधार बनाएर चढावा अर्थात दान चोरी प्रकरणको अनुसन्धान अघि बढाइएको छ। अनुसन्धान गहिरिँदै जाँदा यस घटनासँग सम्बन्धित नयाँ-नयाँ तथ्यहरू सार्वजनिक भइरहेको भारतीय मिडियाहरुले उल्लेख गर्दै आएको छ।