
काठमाडौँ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा आइतबार उनका तीन छोरा मसुद, मेयसम र मुस्तफा सहभागी भएका छन् । तर उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मुज्तबा खामेनी भने समारोहमा देखिएनन् । सञ्चारमाध्यमका अनुसार इजरायलबाट सुरक्षा जोखिम रहेकाले उनले सार्वजनिक रूपमा अन्त्येष्टिमा सहभागी नभएको बताइएको छ ।
इरान इन्टरनेसनलको प्रतिवेदनअनुसार अन्त्येष्टिका क्रममा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध नाराबाजी गरेका थिए । साथै पूर्व सर्वोच्च नेताको मृत्युको प्रतिशोध लिनुपर्ने मागसमेत उठाइएको थियो । सोमबार तेहरानका मुख्य सडकहरूबाट खामेनीको भव्य अन्तिम यात्रा निकालिने तयारी गरिएको छ। यसमा लाखौँ नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । उनको शवलाई राजधानीका प्रमुख मार्ग हुँदै अन्तिम विश्रामस्थलसम्म लगिनेछ । कार्यक्रममा धार्मिक अगुवा, सरकारी अधिकारी तथा सेनाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ ।


अन्तिम यात्रामा ठूलो भीड जुट्ने अनुमान गर्दै इरानी प्रशासनले एक सय त्रियानब्बे बसको व्यवस्था गरेको छ । ती बस तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको छ, ताकि स्वदेश तथा विदेशबाट आएका श्रद्धाञ्जली अर्पण गर्न आउने नागरिक र प्रतिनिधिमण्डललाई समारोहस्थलसम्म पुग्न सहज होस् ।

इरानका राष्ट्रपति मसुद पेजेशकियानले खामेनीको अन्तिम यात्रा केवल विदाइ नभई उनको मार्ग र विचारलाई निरन्तरता दिने सङ्कल्प भएको बताएका छन् ।
उनले अन्त्येष्टिमा लाखौँ मानिसको सहभागिता र उनीहरूको भावुकता कुनै आदेशबाट सम्भव नहुने उल्लेख गर्दै जनभावना कुनै पनि भाषणभन्दा बढी प्रभावशाली हुने र विश्वले त्यसलाई बुझ्ने बताएका छन्।





