खामोनीको अन्तेष्टीमा तीन मुस्लिम देशले पठाएनन प्रतिनिधि

तेहरान, २२ असार । इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि यात्रा बिहान तेहरानको ‘इमाम हुसेन स्क्वायर’ बाट सुरु भएको थियो।

इरानको राष्ट्रिय गानको धुनसँगै यो यात्राको थालनी भएको थियो। बिहानैदेखि सडकहरूमा हजारौँ मानिसहरूको भीड जम्मा हुन थालेको थियो। खामेनीको अन्त्येष्टि यात्रामा सहभागी हुन विश्वभरबाट प्रतिनिधिमण्डलहरू इरान आइपुगेका थिए। यद्यपि, अन्तिम श्रद्धाञ्जलीमा सहभागिता जनाउने विषयमा मुस्लिम राष्ट्रहरू विभाजित देखिए।

प्रधानमन्त्री शहबाज सरिफ, उनका अधिकांश मन्त्रीहरू र सेना प्रमुख आसिम मुनिरलगायत पाकिस्तानका विभिन्न तहका अधिकारीहरू इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी भए। चीनले विशेष दूत पठाएको थियो भने रुसले वरिष्ठ प्रतिनिधि पठाएको थियो। टर्कीका उपराष्ट्रपति पनि यस कार्यक्रमका लागि व्यक्तिगत रूपमा तेहरान पुगेका थिए।

संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र कुवेत गरी तीन मुस्लिम राष्ट्रले खामेनीको अन्त्येष्टिमा आफ्ना प्रतिनिधि नपठाए पछि विश्व राजनीतिबारे पुनः विभिन्न अड्कलबाजी सुरु भएको छ। खाडी क्षेत्रको राजनीति र अर्थतन्त्रमा यी तीनै देश प्रमुख आधारस्तम्भका रूपमा रहेका छन्।

विदेशी पाहुनाहरूमा विभिन्न देशका राष्ट्राध्यक्ष, संसदका सभामुख र मन्त्रीहरू समावेश थिए। उनीहरूमध्ये पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर, आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, जर्जियाका राष्ट्रपति मिखेल काभेलाश्विली, इराकका राष्ट्रपति निजार अमेदी, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, इराकको कुर्दिस्तान क्षेत्रका राष्ट्रपति नेचिरभान बारजानीका साथै चीन र रुसका उच्च अधिकारीहरू थिए।

यस समारोहमा धार्मिक व्यक्तित्वहरू, विद्वानहरू र आदिवासी समुदायका नेताहरूको पनि उपस्थिति थियो। अन्त्येष्टि सम्बन्धी कार्यक्रमहरू जुलाई ९ सम्म जारी रहनेछ, जसमा तेहरान, कोम र मशहदमा शवयात्राका साथै इराकमा पनि विभिन्न समारोहहरू समावेश हुनेछन्। इरानी अधिकारीहरूले तेहरान र मशहदमा तोकिएका मितिहरूमा सार्वजनिक सेवा बन्द रहने तथा हवाई क्षेत्रमा प्रतिबन्ध लगाइने घोषणा गरेका छन् भने बिहीबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरिएको छ।