
नेपाल आयल निगमले आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्दा राजधानी सहित मुलुक भर तेलको अभाव कायमै छ ।
निगमले पेट्रोलियम पदार्थमा राजश्व छुट, अनुदान वा खरिद मूल्यमा विक्रि गर्न पाउने व्यवस्था गर्न नपाउँदासम्म अभाव कायमै रहने बताएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुरेश कुमार अग्रवालले मासिक १ अर्ब ५६ करोड बराबर घाटा व्यहोर्दै आएको निगमले घाटामा तेल ल्याएर विक्रि गर्न नसक्ने बताउनुभयो ।
सरकारले यसअघि २ अर्ब रुपैयाँ अनुदान दिने भनेपनि हालसम्म पनि उक्त रकम नपाएको उहाँले बताउनुभयो । तेल अभाव चर्कदै गएपछि सर्वसाधारण, उद्योग, कलकारखाना, यातायात क्षेत्र प्रत्यक्ष मारमा परेका छन् ।
सरकारले भ्याट फिर्ता वापतको ७५ करोड रुपैयाँ भने दिएको छ ।
सो रकम भारतीय आयल निगमलाई पठाइएसकिएको निगमले जनाएको छ । भारतीय आयल निगमलाई अझै १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ ।
सरकार र राजनीतिक दलहरुले दैनिक अत्यावश्यक वस्तु तेलमा राजनीति गरिरहँदा सर्वसाधारणको दैनिकी भने कष्टकर बन्दै गएको छ ।