
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् ।
फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए ।

घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले २०८१ असार १४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए । त्यसपछि २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि देउ कुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।
सोही जाहेरीका आधारमा जिल्ला अदालत पाँचथर, फिदिमबाट असार १० गते पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले असार २३ गते फिदिम नगरपालिका-४, फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





