
काठमाडौँ । सिरहाको बन्दीपुर सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धान गरिएको थियो।


बर्दिबासस्थित अख्तियारको टोलीले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा नियन्त्रणमा लिएको हो ।

उनको साथबाट घुसबापत लिएको १२ हजार रुपैयाँ, स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ नगद र एउटा मोबाइलसमेत बरामद भएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।





