
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
विभागले आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसँगै हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा तथा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





