
मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा समुदायस्तरसम्म कानुनी सचेतना विस्तार गर्ने प्रतिबद्धता
-अनिल नेपाली , अर्घाखाँची।

मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ६० जना विद्यार्थीलाई कानुनी शिक्षा तथा सचेतनासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो। कार्यक्रममा विशेषगरी विद्युतीय (साइबर) अपराध, शिक्षक तथा विद्यार्थीको भूमिका, घरेलु हिंसा, लैङ्गिक हिंसा तथा कानुनी सचेतनासम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।


मुख्य न्यायाधिवक्ताको कार्यालयले यस्ता कानुनी सचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष समुदायस्तरमा सञ्चालन गर्दै आएको जनाएको छ। कार्यालयका अनुसार यस्ता कार्यक्रमले समुदाय, सार्वजनिक निकाय तथा सेवाग्राहीबीच कानुनी ज्ञान विस्तार गर्नुका साथै सुशासन प्रवर्द्धन र कानुनको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


कार्यालय प्रमुख मुख्य न्यायाधिवक्ता यमलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल गोविन्द अधिकारीले गरेका थिए। कार्यक्रममा उपन्यायाधिवक्ता ऋषिकेश बस्यालको समेत उपस्थिति रहेको थियो।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराज थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल केसी लगायतले विद्यालयमा विद्यार्थी लक्षित यस्ता महत्वपूर्ण कानुनी सचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD




