
नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ।
यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ।


‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको छ।

यसै क्रममा ‘इन्डिया ए’ लाई नेपाल पठाउनु एक महत्त्वपूर्ण कदम मानिएको छ । ‘इन्डिया ए’ र नेपालबीचको पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ। दोस्रो खेल डिसेम्बर ११ मा र अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ। तीनै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
स्कटल्याण्डमा आयोजित आइसीसी को वार्षिक बैठकका क्रममा क्रिकेट संघ नेपालका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बिसिसीआइका सचिव देवजित सैकिया बीच भएको छलफल पछि यो शृङ्खलाको टुंगो लागेको हो। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतालाई हेर्दा यो शृङ्खलाका क्रममा रंगशालामा ठूलो संख्यामा दर्शकहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

‘इन्डिया ए’ को यस भ्रमणको सबैभन्दा रोमाञ्चक पक्ष टोलीको सम्भावित संरचना हुन सक्छ। डिसेम्बरमा भारतीय वरिष्ठ टोलीको व्यस्त तालिकालाई ध्यानमा राख्दै नेपाल भ्रमणका लागि टी–२० का विशेषज्ञ र युवा खेलाडीहरूलाई पठाइन सक्छ। १५ वर्षीय वैभव सूर्यवंशी, तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, प्रिन्स यादव र सूर्यांश शेड्गे जस्ता खेलाडीहरू ‘इन्डिया ए’ टोलीमा समावेश हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
सो समयमा भारतको कुनै पनि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला तय गरिएको छैन। सन् २०२७ को व्यस्त ‘ह्वाइट बल’ क्रिकेट तालिका अघि युवा तथा टी–२० विशेषज्ञ खेलाडीहरूलाई चयन गर्ने उत्कृष्ट अवसर चयनकर्ताहरूका लागि यो हुनेछ।





