बुमराह बन्न सक्छन् मुम्बई इन्डियन्सका नयाँ कप्तान

काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराह इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सका आगामी कप्तान बन्न सक्ने सम्भावना बढेको छ । टोलीका वर्तमान कप्तान हार्दिक पाण्ड्या र एक पूर्व भारतीय कप्तानलाई अर्को टोलीमा पठाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । मुख्य प्रशिक्षक महेला जयवर्धनेसहित प्रशिक्षक टोलीमा समेत परिवर्तन हुन सक्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार यी विषयमा अन्तिम निर्णय अर्को साता इङ्ल्यान्डमा हुने समीक्षा बैठकबाट हुन सक्नेछ । बैठकमा अम्बानी परिवारका सदस्य तथा टोलीका उच्च अधिकारी सहभागी हुनेछन् । पछिल्ला पाँच सिजनमा मुम्बई इन्डियन्सको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन । पछिल्लो सिजनमा टोलीले चार खेल मात्र जित्दै आठ अंकसहित नवौँ स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको थियो । मुम्बईले पछिल्लोपटक सन् २०२० मा रोहित शर्माको कप्तानीमा आईपीएल उपाधि जितेको थियो । त्यस फाइनलमा मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो ।

मुम्बई इन्डियन्सले २७ नोभेम्बर २०२३ मा हार्दिक पाण्ड्यालाई अर्को टोलीबाट ल्याएर कप्तान बनाएको थियो । तर उनको नेतृत्वमा पनि टोलीको प्रदर्शनमा सुधार आउन सकेन। टोलीभित्र असमझदारी र समूहगत विवाद रहेको चर्चा बाहिर आए पनि यसबारे टोली व्यवस्थापन वा खेलाडीहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

ड्रेसिङ रुमको वातावरण र पटक पटक परिवर्तन भएका रणनीतिले टोलीको प्रदर्शनमा असर परेको बताइएको छ । हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईले ३९ खेल खेल्दा १५ खेलमा मात्र जित हात पारेको छ ।

मुम्बई इन्डियन्स सन् २०२७ को सिजनका लागि स्थायी कप्तान नियुक्त गर्ने योजनामा रहेको बताइएको छ । टोलीले अस्थायी कप्तानको भरमा अघि बढ्न नचाहेको जनाइएको छ। कप्तानीको दौडमा जसप्रित बुमराह सबैभन्दा अगाडि देखिएका छन् । पछिल्ला तीन सिजनमा उनको प्रदर्शन निरन्तर उत्कृष्ट रहँदै आएको छ । सन् २०२६ को आईपीएलमा हार्दिक पाण्ड्या र सूर्यकुमार यादव अनुपस्थित हुँदा बुमराहले पञ्जाब किङ्सविरुद्ध मुम्बईको कप्तानी गरेका थिए । त्यस क्रममा बुमराहले आफूले मुम्बईको कप्तानी गर्नुअघि भारतीय टेस्ट टोलीको कप्तान बन्ने कल्पना नगरेको बताएका थिए ।

बुमराहबाहेक तिलक वर्माको नाम पनि कप्तानीका लागि चर्चामा छ । तर छोटो ढाँचाको क्रिकेटमा उनको पछिल्लो प्रदर्शन अपेक्षाअनुसार नरहेको र कम उमेरमै कप्तानीको जिम्मेवारी दिँदा उनको ब्याटिङमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

मुम्बई इन्डियन्सका अलराउन्डर तथा पूर्व कप्तान हार्दिक पाण्ड्याको भविष्यलाई लिएर पनि चर्चा बढेको छ। विभिन्न टोलीहरूले उनलाई भित्र्याउन इच्छा देखाएको बताइएको छ । अर्को साता हुने समीक्षा बैठकपछि मात्र हार्दिक पाण्ड्याको भविष्यबारे स्पष्ट निर्णय आउने सम्भावना रहेको छ र उनले मुम्बई छोड्ने लगभग निश्चित प्राय: रहेको दाबि गरिएको छ ।