
केशव पन्थी , अर्घाखाँची डटकम।
अर्घाखाँची। अर्घाखाँची जिल्लामा जंगली जनावरको बढ्दो आतंकका कारण मकै खेती संकटमा पर्दै गएको छ। दिउँसो बादर र रातिको समयमा बदेलले मकैबारीमा प्रवेश गरी बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। वर्षभरि खानका लागि लगाएको मकै पाक्न नपाउँदै जंगली जनावरले सखाप पार्न थालेपछि किसानको मेहनत, लगानी र उत्पादनमाथि गम्भीर असर परेको छ।

सन्धिखर्क, शितगंगा, भूमिकास्थान, पाणिनी, छत्रदेव र मालारानीका अधिकांश ग्रामीण क्षेत्रमा यो समस्या वर्षेनी बढ्दै गएको स्थानीय कृषकहरू बताउँछन्। अहिले धेरै किसान रातभर खेतमा पहरा दिन बाध्य छन् भने दिउँसो बादर धपाउनकै लागि खेतबारीमा समय बिताउनुपर्ने अवस्था छ। यसले खेतीपातीप्रतिको उत्साहसमेत घट्दै गएको उनीहरूको गुनासो छ।


किसानहरूका अनुसार पहिले कहिलेकाहीँ मात्र देखिने बादर र बदेल अहिले ठूलो समूहमा खेतबारीमा पसेर केही घण्टामै मकैबाली नष्ट गर्ने गरेका छन्। महिनौँको मेहनत एकै रातमा खेर जाने अवस्था आएपछि धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्ने सोच बनाइरहेका छन्।
स्थानीय कृषकहरू भन्छन्, “महिनौँसम्म दुःख गरेर लगाएको मकै केही घण्टामै बादर र बदेलले सखाप पारिदिन्छन्। दिनभर खेतमा बस्नुपर्छ, रातभर पहरा दिनुपर्छ। यसरी खेती गरेर परिवार पाल्न कठिन हुँदै गएको छ। सरकारले प्रभावकारी संरक्षणको व्यवस्था नगरे खेती नै छाड्नुपर्ने अवस्था आउँदैछ।”

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जंगली जनावरका कारण किसानले ठूलो क्षति बेहोर्नुपरेको विषय सम्बन्धित निकायसमक्ष निरन्तर उठाउँदै आएको बताउँदै बाली संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्नुभयो।
भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी कृषि संरक्षणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

त्यसैगरी छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले जंगली जनावर नियन्त्रणका वैज्ञानिक उपाय अपनाउँदै किसानलाई राहत तथा संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ भने पाणिनी गाउँपालिकाकी उपाध्यक्ष नर्मदा पौडेलले महिला किसानसहित अधिकांश कृषक प्रत्यक्ष रूपमा प्रभावित भएकाले बाली संरक्षण, क्षतिपूर्ति र कृषि प्रवर्द्धनका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
कृषि तथा वन क्षेत्रका जानकारहरूका अनुसार वन्यजन्तुको संख्या वृद्धि, वन क्षेत्रको संरचनामा आएको परिवर्तन, मानव बस्ती र वनबीचको दूरी घट्दै जानु तथा पर्याप्त नियन्त्रणको अभावका कारण समस्या जटिल बन्दै गएको हो। उनीहरूले स्थानीय तह, डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिएका छन्।
समयमै प्रभावकारी कदम नचालिए अर्घाखाँचीमा मकै उत्पादनमा थप गिरावट आउने, खेतीयोग्य जमिन बाँझिने र गाउँबाट बसाइँसराइको समस्या अझ गम्भीर बन्ने स्थानीय किसानहरूको चेतावनी छ। किसानहरूले तत्काल बाली संरक्षण, क्षतिपूर्ति व्यवस्था र वन्यजन्तु नियन्त्रणका प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




